काठमाडौँ । मिथिलामा लोक आस्थाको महापर्व छठको तयारी शुरु भएको छ । मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी शुरु भएको हो ।
जनकपुरको पोखरीहरुलाई अहिले सजाउने कार्यहरु धमाधम शुरु भएको छ भने जनकपुरको रामायणकालीन पोखरीहरु धनुष सागर, गंगा सागर, अंगराज सरोवरलगायतका पोखरीहरुमा भव्य रुपमा छठ पर्व हुने गरेको छ । यसलाई अहिले विभिन्न पोखरीहरुमा रहेको छठ पूजा समिति तथा स्थानिय युवा क्लवहरुले सजाउन थालेका छन् ।
स्थानिय क्लवहरुले स्थानीय स्तरबाट सहयोग जुटाएर पोखरीहरुलाई सजाउने कार्यको अन्तिम तयारीमा लागेको पूजा व्यवस्थापक सुशील कर्णले बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरहरूको सरसफाई तथा सौन्दर्यकरणको काम शुरु भएको र गंगा सागर छठ पूजा समितिले गंगा सागरको छेउमा छठका लागि घाट निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको पनि जानकारी दिनुभयो ।
पोखरीको चारैतिरका डिलमा करिव चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने सक्ने बतउँदै उहाँले छठ पर्वमा रहेक जातजाती एकै ठाउँमा बसेर मनाउने भएकै कारण यसलाई लोक आस्थाको पर्व भनिएको बताउनुभयो ।


















