३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिगणनाका लागि काभ्रेमा ८६ गणक र २२ सुपरीवेक्षक खटाइँदै



अ+ अ-

बनेपा । सातौं राष्ट्रिय कृषिगणनाका लागि काभ्रेपलाञ्चोक मा ८६ गणक र २२ सुपरीवेक्षक खटाइने भएको छ ।

प्रत्येक १० वर्षमा गरिने कृषिगणना यसपटक ६ वैशाखदेखि १९ जेठसम्म हुनेछ । मुलुक सङ्घीय संरचनामा गएपछि पहिलो पटक हुन लागेको कृषिगणनामा तथ्याङ्क सङ्कलनका लागि गाउँगाउँमा गणक र सुपरीवेक्षक खटिने भएको हो ।

गणनामा कृषकले चलान गरेको जग्गा तथा पशुपन्छीपालन, अन्य खेतीलगायत विविध विषयसम्बन्धी विस्तृत विवरणहरू सङ्कलन गरिनेछ । त्यस्तै कृषि विकासका लागि स्थानीय, जिल्ला र प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा गर्न, नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्क सङ्कलन गरिने छ । त्यस्तै गणनामा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण उपलब्ध गराउन, कृिषसम्बन्धी राष्ट्रियस्तरका लक्ष्य र सूचक तथा दिगो विकास लक्ष्यका सूचकका लागि आवश्यक पर्ने तथ्याङ्क उपलब्ध गराउन, कृषिसम्बन्धी अन्य सर्वेक्षणका लागि आधार तयार गर्ने र समग्र कृषि तथ्याङ्कको स्तर बढाउने उद्देश्यअनुरुप केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय कृषिगणना–२०७८ सुरु गर्न लागिएको हो ।

यसका लागि जिल्लामा आगामी वैशाख ३ गतेसम्म गणक र सुपरीवेक्षकलाई तालिम प्रदान गर्न लागिएको जिल्ला तथ्याङ्क अधिकृत दिपक कोइरालाले बताउनुभयो । तीन महिनाका लागि सुरु हुन लागेको सो अभियान यसअघि नै पुस, माघ र फागुनमा सकिनुपर्नेमा विविध कारणले गर्दा आगामी जेठभित्रमा सम्पन्न गर्नेगरी राष्ट्रयव्यापीरुपमा अभियान सुरु हुन लागेको उहाँले बताउनुभयो ।

नमूना सङ्कलन विधिका माध्यमबाट हुन लागेको कृषिगणनाका लागि जिल्लाको २२७ स्थानमा गणक खटाइने तयारी भएको छ । सो क्रममा घरपरिवारले गरेको कृषिकार्य, संस्थागत कृषिकार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायले गरेका कृषिकार्य) र वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समेटिने जिल्ला तथ्याङ्क अधिकृत कोइरालाले बताउनुभयो ।

जिल्लाका १३ वटा स्थानीय तहमध्ये धुलिखेल र बनेपा नगरपालिकाभित्रमा १८ वटा गणना क्षेत्रमा सात जना सुपरीवेक्षक र दुई गणक, पनौती नगरपालिकाका लागि २० वटा गणना क्षेत्रमा आठ गणक र दुई सुपरीवेक्षक, मण्डनदेउपुर नगरपालिकामा २२ वटा गणना क्षेत्रमा आठ गणक र दुई सुपरीवेक्षक, नमोबुद्धको १९ र पाँचखाल नगरपालिकाको २० वटा गणना क्षेत्रका लागि आठ गणक र दुई सुपरीवेक्षक खटाइने भएको छ ।

त्यस्तै जिल्लाको चौँरीदेउराली र भुम्लु गाउँपालिकाको १६-१६ वटा गणना क्षेत्रका लागि छ गणक र दुई सुपरीवेक्षक, रोशी गाउँपालिकाको १८ गणना क्षेत्रका लागि छ गणक र दुई सुपरीवेक्षक, महाभारत गाउँपालिकाको १५ गणना क्षेत्रका लागि छ गणक र एक सुपरीवेक्षक, खानीखोला गाउँपालिकाको १४ गणना क्षेत्रका लागि पाँच गणक र दुई सुपरीवेक्षक, तेमाल गाउँपालिकाको १६ गणना क्षेत्रका लागि छ गणक र एक सुपरीवेक्षक तथा बेथानचोक गाउँपालिकाको १५ गणना क्षेत्रका लागि पाँच गणक र एक सुपरीवेक्षक खटाइने भएको छ ।