४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशसभा बैठक सञ्चालन हुन सकेन



अ+ अ-

कर्णाली । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन ।

यही साउन ३ गते बसेको प्रदेशसभाको १०औँ अधिवेशनको २६औँ बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठकको सुरुआतमै सत्ता साझेदार दल बैठकबाट बाहिरिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगितको घोषणा गर्नुभएको थियो । माओवादी केन्द्रसँगको छलफलपछि मनाएर बैठक सञ्चालन गर्ने प्रयास सभामुख शाहीले गरे पनि पुनः बैठक चल्न सकेन । उहाँले सभाको बैठक सञ्चालन गर्न भन्दै बुधबार दिउसो ३ः०० बजे आफ्नो संयोजकत्वमा सर्वदलीय बैठक बसाल्नुभयो । यद्यपि सर्वदलीय बैठक बिनानिष्कर्ष टुङ्गियो ।

“यो समस्या खासगरी सत्ता साझेदार दलभित्रको हो । प्रतिपक्षसँगको होइन”, सभामुख शाहीले भन्नुभयो, “उहाँहरु आफैँ बसेर यसलाई सल्टाए हुन्छ । यसका लागि खासै सर्वदलीय बैठक बस्नुपर्ने अवस्था थिएन । तर केही वातावरण बनोस् भनेर मैले बैठकको आह्वान गरेको हुँ । आशा गरौँ सत्तारुढ दलभित्र सल्लाह भएर सदन सञ्चालन होला ।”

बुधबार बिहान माओवादी संसदीय दलको बैठकले दल नेता महेन्द्रबहादुर शाहीलाई वार्ता तथा सहमतिको पहल गर्ने जिम्मेवारी दिएको थियो । सर्वदलीय बैठकमा मुख्यमन्त्री जीवनबहादुर शाही र सदनले माओवादी केन्द्रले उठान गरेका मुद्दालाई हलुका ढङ्गले छलफल गर्न खोजेको आरोप लगाउँदै दलका नेता शाही बाहिरिनुभएको थियो ।

माओवादी केन्द्रले उठाएको सवाल तथा विषयमा सरकार र सदनले गम्भीरताका साथ ध्यान नदिए सभाको बैठक र संसदीय समितिमा उपस्थित नहुने माओवादी केन्द्रबाट कर्णाली प्रदेशसभामा दलका प्रमुख सचेतक कृष्णा शाहीले बताउनुभयो । “सरकार हाम्रा मुद्दामा आनाकानी गरेर एकलौटी ढङ्गबाट चल्न खोजेको छ”, प्रमुख सचेतक शाहीले भन्नुभयो, “यो माओवादी केन्द्रका लागि सह्य हुँदैन । समन्वय, सहकार्य र सहअस्तित्वबाट सरकार चल्नुपर्छ र यसमा सरकार जिम्मेवार बन्नैपर्छ ।”

बुधबार बसेको सर्वदलीय बैठकमा प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट यमलाल कँडेल, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही, मुख्यमन्त्री जीवनबहादुर शाही, नेकपा (एकीकृत समाजवादी)का चन्द्रबहादुर शाही र राप्रपाका सोशिला शाही सहभागी हुनुभएको थियो । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका विषयमा थप छलफल हुने बताइएको छ ।