७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङबेँसीमा खानेपानी समस्या: ऐचोपैँचोमा पानी चलाईँदै



फाईल फोटो
अ+ अ-

मलेखु । नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङबेँसीकी अम्बिका भट्टले मङ्गलबार छिमेकीसँग एक बाल्टी खानेपानी पैँचो माग्नु भयो । उहाँले पानी मागेर चलाएको पहिलोपटक भने होइन । उहाँ भन्नुहुन्छ, “सदरमुकाममा बसेको भन्नु मात्रै हो, पानी पैँचो मागेर चलाउनु हाम्रा लागि सामान्य भइसक्योे । कहिले तल्लो घर त कहिले माथिल्लो घर, ऐचोपैँचोमै चलिरहेकै छु । ”

उहाँको घरमा पानी रिजर्भ गर्ने ट्याङ्की तीन ढलानमाथि छतमा छ । ट्याङ्कीमा पानी नचढेको वर्षौँ बित्यो । “विसं २०६२ मा घर बनाउँदा धाराकै पानीले घर ढलान गरियो, छेलोखेलो पानी पुग्थ्यो । विसं २०७० सम्म पनि जेनतेन पानीले धानेकै थियो”, उहाँ भन्नुहुन्छ, “पाँच–छ वर्षदेखि खानेपानीको साह्रै दुःख छ ।”

जिल्ला सदरमुकाम धादिङबेँसीका अधिकांश घरका छतमा पानी चढ्दैन । प्रायः सबैले भुइँतलामै सानोसानो धारो राखेका छन् । ठूला घर भएकाले मोटर चलाएर जसोजसो पानी छतमा पु¥याएका छन् । केहीले त मिटरमै पनि नजोडी पाइप लाइनबाट सिधै पानी थाप्छन् ।

भर्खर भर्खर नयाँ घर बनाएकाहरुले भुइट्याङ्की बनाएका छन् । भुइँट्याङ्की राख्नेहरुले बाहिर छुटाउदैन । मोटर नचलाउने र भुइँट्याङ्की नहाल्नेहरूले बाहिरै बोत्तलमा पानी भर्ने गरेका छन् । “बाहिरबाट डाइरेक्ट मोटर प्रयोग गरेर पानी तान्दा अरु घरमा पानी झर्दैन, बाहिर छुटाएर भरेको छिमेकीको घरमा मागेर पानी चलाउने र आफ्नो भरेको बेला पैँचो फिर्ता दिने चलन छ”, नीलकण्ठ नगरपालिका पुछारबजारका अनुप कोइरालाले भन्नुभयो ।

अहिले घरभित्र पानी चढ्दैन । बाहिर बोत्तल ढल्काएर पानी थाप्नुपर्छ । त्यो पनि कहिले मध्यरातमा त कहिले–कहिले बिहान ५ बजे । ट्याङ्कीले नधानेको बेला जुन कुनै बेला पानी छोड्ने गरेको छ ।

खानेपानी उपभोक्ता समिति र कर्मचारीकै कमजोरीले पनि समस्या जटिल बन्दै गएको उपभोक्ताले गुनासो गरेका छन् । कसको घरमा पानी बाहिरैबाट थाप्छ, कसको घरमा मिटर प्रयोग गर्छ कडाइका साथ अनुगमन गरेर भएको पानी व्यवस्थापन गर्ने हो भने पनि केहीसम्म समस्या समाधान हुनसक्ने उपभोक्ताले नै बताएका छन् । खानेपानी पाइपको विस्तार तथा पानी वितरण वैज्ञानिक ढङ्गबाट हुन नसक्दा ट्याङ्कीमा पानी हुँदा पनि खानेपानीको समस्या हुँदै आएको छ । खानेपानीको मुहानमा पानीको समस्या नभए पनि वर्षाँै पुरानै पाइप लाइनबाट खानेपानी वितरण गर्दा बढ्दो जनसङ्ख्याको चाप पानीले धान्न नसकेको हो ।

नीलकण्ठ –३ जिल्लाकै सदरमुकाम हो । यहाँ अहिले साना–ठूला तीन हजार घरमा २० हजारभन्दा धेरैको बसोबास छ । एकाधबाहेक सबै सरकारी कार्यालय सदरमुकाममै छ । धादिङबेँसी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका अनुसार दैनिक ५० लाख लिटर पानीको माग छ । तर २५ लाख लिटरमात्रै पानी वितरण हुँदै आएको उपभोक्ता समितिका व्यवस्थापक रमेश पौडेलले जानकारी दिनुभयो ।

धादिङबेँसीमा खानेपानी अभाव बर्सेनि बढ्दै गएको छ । वर्षाँै पुरानो पाइप लाइनबाट आएको पानीले बढ्दो जनसङ्ख्याको चाप थेग्न नसकेको हो । सदरमुकामबाट आठ किलोमिटर टाढा नीलकण्ठ–२ को सातमुले र ६ किलोमिटर टाढा केराबारीको मूलबाट पानी ल्याइएको छ । विसं २०३५ मा पाँच सय जनाको लागि स्टमेट गरेर ल्याइएको पानीले नै अहिलेसम्म सदरमुकामवासीको तिर्खा मेटाउँदै आएको छ । सदरमुकाममा तीन हजार बढी घर छ । २० हजार बढी जनसङ्ख्या छन् । “बढ्दो जनसङ्ख्या र वर्षाँै पुरानो खानेपानीको क्षमता विस्तार नहुँदा उपभोक्ता समितिलाई सदरमुकाम धादिङबेँसीमा मागअनुसारको खानेपानी आपूर्ति गर्न चुनौती थपिएको हो”, उहाँले भन्नुभयो ।

विसं २०५६ देखि उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । २०६२ मा नौ सय घरधुरीलाई पुग्ने गरी सुधार विस्तार गरियो । “२५ वर्षअघि अनुमानको भरमा ‘स्टमेट’ गरेर ल्याइएको खानेपानीले धानेन भन्नु लाजमर्दो कुरा हो”, नीलकण्ठ –३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले भन्नुभयो, “यसअघिको राजनीतिक खिचातानीले नै सदरमुकाममा अहिले पानीको समस्या जटिल बनेको हो ।”

कोही बालबच्चा पढाउन त कोही रोजगारीको सिलसिलामा सदुमुकाममा कोठा भाडामा बस्छन् । घर भाडामा बस्नेहरु झनै पानीको बढी मारमा छन् । धारोमा आउने पानीले घरबेटीलाई नै नपुग्ने भएकाले भाडामा बस्नेहरू अझ बढी पानीको समस्यामा छन् ।

जलवायु परिवर्तन र मुहान आसपासको वनजङ्गल विनाश हुँदा नजिकका धारो कुवा पनि सुक्न थालेपछि बजारवासी थप समस्यामा परेका छन् । भलबाढी र पहिराले कहिले पाइप लाइन त कहिले ट्याङ्कीमै क्षति प¥याउँदा बजारवासीले विगतका वर्षभन्दा यस वर्ष झनै खानेपानी सङ्कट परेको छ । रासस