१२ असार २०८३, शुक्रबार
,
Latest
पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सद्वारा विश्वकप उपहार योजना घोषणा रास्वपामा पदाधिकारी चयनका लागि मतदान सुरु ब्रिटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस पार्टनर समिट सम्पन्न, उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित रास्वपा महामन्त्रीका आकांक्षी कार्की भन्छन्: लोकतन्त्र कोठाभित्र हुने सहमतिले नभई प्रतिनिधिहरूको स्वतन्त्र मतबाट सुरक्षित र… जुम्लामा ट्राफिक कारबाहीबाट आठ लाख १२ हजार राजस्व सङ्कलन उम्मेदवारी फिर्ताले फेरियो रास्वपाको महामन्त्री प्रतिस्पर्धा रास्वपाको उपसभापति पदमा सोबिता र तोसिमाबीच प्रतिस्पर्धा आँधीले जापानमा उडान प्रभावित रास्वपा पदाधिकारी निर्वाचन : ६ पदका लागि ३० उम्मेदवार चुनावी प्रतिस्पर्धामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अविरल वर्षाले राप्ती नदीको बहाव बढ्दो, उच्च सतर्कता अपनाउन आग्रह



अ+ अ-

खजुरा । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ ।

लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

आज बिहान ६ः३० बजे कुसुममा नदीको सतह छ दशमलव ३२ मिटर पुगेको बाँकेस्थित जलमापन केन्द्रले जनाएको छ । अहिले पनि निरन्तर वर्षा भइरहेकाले खतराको तह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । राप्ती नदीमा बाढी आएपछि तल्लो तटीय क्षेत्रका फत्तेपुर, गङ्गापुर, होलिया, बेतहनी, कम्दी गाउँलगायत स्थानमा बाढी आउँछ ।

जिल्ला विपद् व्यवस्थापन समितिले बुधबार साँझ एक सूचना निकालेर नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार सोनकरले उक्त सूचना जारी गर्दै राप्ती नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ । सूचनामा नदी किनारको तल्लो तटीय क्षेत्रमा नदी किनारमा जाने, दाउरा छोप्ने, नुहाउने, माछा मार्नेजस्ता कार्य नगर्न पनि उल्लेख गरिएको छ ।

अविरल वर्षाले बाँके जिल्लाका विभिन्न स्थान अहिले जलमग्न भएको छ । नेपालगञ्ज, कोहलपुर, खजुरा बजार क्षेत्रका अधिकांश स्थानमा पानी जमेको छ । अहिले पनि वर्षा भइरहेकाले सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ ।

यसैगरी लगातार वर्षाका कारणले नेपालगञ्जको रामलिला मैदानमा बडादसैँको घटनास्थापनादेखि सुरु भएको रामलिला महोत्सव दशहरा मेला स्थगित भएको छ । अविरल वर्षाका कारण बुधबार हुने भनिएको १० औँ दिनको रावण बधलगायत कार्यक्रम आजलाई सारिए पनि वर्षा नरोकिएकाले गर्ने या नगर्ने अनिश्चित बनेको सञ्चालक समितिले जनाएको छ ।

समितिका प्रबन्धक भरतकिशोर वैश्यका अनुसार लगातार वर्षा भइरहेको र रामलिला मैदानमा पानी जमेका कारण सबै कार्यक्रम स्थगित गरिएको हो । रामलिला नाटक प्रदर्शनीमा आज ४२ फिटको रावणको पुत्ला दहन गर्ने कार्यक्रम थियो । अहिले रामलिला मैदान पूरै जलमग्न छ । रासस