१४ असार २०८३, आईतवार
,
Latest
उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन जुवातास खेलिरहेका अवस्थामा २१ जना पक्राउ मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको प्रतिबद्धतापत्रः प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरुपको अवधारणासहित पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख वा राष्ट्रप्रमुख हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्ने पार्टीको एजेण्डा छ ।”

अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै तीव्ररूपले आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढ्नका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने पार्टीको नीति रहेको बताउनुभयो ।

जसपाले संविधानमा रहेका त्रुटि र अपूर्णतालाई संविधान संशोधनमार्फत पूरा गर्दै सर्वस्वीकार्य बनाउँदै राष्ट्रको उत्थानमा केन्द्रित हुने जनाएको छ । “नेपालमा बहुमतको सरकार र अल्पमतको विपक्षको परम्परागत लोकतन्त्रको मान्यता असफल भइसकेको परिप्रेक्ष्यमा समानुपातिक प्रतिनिधित्व हुने संसद् र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहितको शासकीय स्वरुपमार्फत राजनीतिक स्थायित्व कायम गर्न सकिन्छ”, जसपाको प्रतिबद्धतापत्रमा भनिएको छ ।

पाँच भागमा केन्द्रित जसपाको प्रतिबद्धतापत्रमा राजनीतिक, आर्थिक विकास, सामाजिक रुपान्तरण र औद्योगिकीकरणको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ । सबै तहको व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संवैधानिक अङ्ग सञ्चालन गर्ने, सङ्घमा दुई सदनात्मक तथा प्रदेश र विशेष संरचना एक सदनात्मक व्यवस्थापिका सभा हुने राज्य व्यवस्था अवलम्बन गरिनुपर्ने जसपाको नीति छ ।

अध्यक्ष यादवले राजनीतिकरूपमा विगतमा भएका विभिन्न आन्दोलनबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रही बाँकी मुद्दालाई सम्बोधन गर्नका लागि संसद्बाट प्रयास गरिने बताउनुभयो ।

जसपाले स्वतन्त्र र निष्पक्ष न्यायालय सङ्घीय संरचनाअनुरुप हुनुपर्ने, विद्यमान निर्वाचन प्रणाली महँगो र भड्किलो भएकाले आर्थिकरूपले सरल र सस्तो समानुपातिक निर्वाचन प्रणाली अपनाइनुपर्नेमा जोड दिएको छ ।

राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबै समुदायको समानुपातिक प्रतिनिधित्व र पहुँच हुने गरी संवैधानिक र कानुनी व्यवस्था गरिनुपर्ने नीति लिएको जसपलाले समावेशी लोकतन्त्र, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अप्पसङ्ख्या एवं पिछडिएका र बहिष्करणमा परेका समुदायको हक अधिकार सुनिश्चित हुने, महिला र फरक क्षमता भएकाहरूको सामाजिक सुरक्षाको सुनिश्चिततालगायत विषयलाई प्रतिबद्धतापत्रमा समेटेको छ ।

शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्ने, देशभित्र रोजगारी सिर्जना गरी युवा पलायन रोक्दै आर्थिक समृद्धिको यात्रामा ऊर्जा, पर्यटन कृषि, औद्योगिकीकरणलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने जसपाले एजेण्डा अघि सारेको छ ।

त्यसैगरी राष्ट्रिय हित अनुकूल विदेश नीति अवलम्बन गर्दै सुशासन प्रवद्र्धनमा ध्यान दिने प्रतिबद्धतापत्रमा भनिएको छ । जसपाका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले सङ्घीयतालाई थप सुदृढ गर्दै संविधानको संशोधनमार्फत समेट्न बाँकी रहेका विषयलाई प्राथमिकता दिएर पार्टीले चुनावी प्रतिबद्धतापत्र ल्याएको बताउनुभयो ।

जसपाले मधेसी समुदायको राष्ट्रिय पहिचान र अधिकारको प्रत्याभूति गर्ने गरी नागरिकता समस्याको समाधन गर्ने नीति लिएको छ । मधेसी समुदायलाई राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका निम्ति संयुक्त राष्ट्रसङ्घको घोषणाअनुरुपको आम्मनिर्णयको अधिकार हुने व्यवस्था हुनुपर्ने अवधारणा जसपाले अघि सारेको छ ।

जसपाले पाँच वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी आगामी पाँच वर्षमा १० हजार मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बीमा कम्पनी आदिमा रहेको कोषलाई विद्युत् उत्पादनमा लगाउन प्रेरित गर्ने जसपाले जनाएको छ । हाल विद्यमान स्थायी लेखा ९प्यान०मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट रु ५० लाख बनाउने र साना व्यावसायीको लेखाप्रणाली तथा व्यवसाय नवीकरणलाई सहज र सरल बनाउने नीति लिइएको छ ।

त्यसैगरी जसपाले ज्येष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्नुपर्ने अवधारणा ल्याएको छ । नेपाललाई पर्यटकीय दृष्टिकोणले अनतर्राष्ट्रिय गन्तव्य केन्द्रका रूपमा विकसित गर्दै यस क्षेत्रलाई रोजगारी र विदेशी मुद्रा आर्जनको स्रोतका रूपमा विकास गर्ने प्रतिबद्धतपत्रमा भनिएको छ ।