काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापासँग विप्लवले भेटवार्ता गरेका छन् ।
विप्लव शुक्रबार बिहानै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'सहित थापा निवास बुढानिलकण्ठ पुगेका हुन् । भेटमा उनले आफ्नो भूमिगतकालमा राप्रपाले गरेको बैचारिक सहयोगको प्रशंसा गरेका थिए ।

भेटका क्रममा उनले देश कठिन अवस्थामा पुगेको र बैदेशिक हस्तक्षेप अत्यन्त तीव्र भइरहेकाले सबै दलहरु मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नु पर्नेमा जोड समेत दिए ।
राप्रपा अध्यक्ष थापाले पनि सरकारले विप्लव सँगको सहमित कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको बताए । पछिल्लो समय विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।












