काठमाडौं । राससका वरिष्ठ कार्यकारी सम्पादक एकराज पाठक राससको प्रधानसम्पादकमा नियुक्त हुनुभएको छ । हालै दशौँ तहमा बढुवा हुनुभएका उहाँलाई रासस सञ्चालक समितिले राससको विनियमअनुसार यही साउन १ गतेबाट लागू हुनेगरी प्रधानसम्पादकमा नियुक्त गरेको हो । पाठकलाई आज रासस केन्द्रीय कार्यालयमा कार्यकारी अध्यक्ष श्यामल अधिकारीका उपस्थितिमा महाप्रबन्धक सिद्धराज राईले बढुवासहित जिम्मेवारीको पत्र हस्तान्तरण गर्दै बधाई दिनुभयो । साथै नवनियुक्त नायब महाप्रबन्धकहरुले पनि उहाँलाई बधाई दिनुभयो ।
पाठक हाल कर्मचारी प्रतिनिधिका रुपमा राससको सञ्चालक समितिका सदस्य हुनुहुन्छ । उहाँ हाल राससको आलेख शाखाको प्रमुखका रुपमा कार्यरत हुनुहुन्छ । विसं २०३१ फागुनमा बागलुङमा जन्मिनुभएका पाठक विसं २०५६ मा समाचारदाताका रुपमा रासस प्रवेश गर्नुभएको हो ।
उहाँसँग विश्वविद्यालयमा आमसञ्चार तथा पत्रकारिता विषय अध्यापनको अनुभव छ । उहाँले सूचनाको हक र पत्रकारिता विषयमा विभिन्न पुस्तक लेख्नुभएको छ । उहाँले यसअघि राससको उपप्रमुख समाचारदाता, अन्तर्राष्ट्रिय समाचार डेस्कको प्रमुख तथा प्रदेश समन्वय विभाग प्रमुखका रुपमा रहेर काम गर्नुभएको छ ।
हाल प्रधानसम्पादक रहनुभएका श्यामप्रसाद रिमाल ११ औँ तहका नायब महाप्रबन्धकमा बढुवा हुनुभएको छ । यसैगरी प्रमुख समाचारदाता राजु शाक्य र अन्तरराष्ट्रिय शाखा प्रमुख सोमनाथ लामिछाने पनि नायब महाप्रबन्धकमा बढुवा हुनुभएकामा अध्यक्ष तथा महाप्रबन्धकले बधाई दिनुभयो । त्यस्तै रासस प्रमुख समाचारदातामा कार्यकारी सम्पादक कृष्ण अधिकारी नियुक्त हुनुभएको छ ।












