काठमाडौं । एमसीसीको बारेमा छलफल गर्न बसेको सत्ता साझेदार ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । नेपाली काग्रेस र अन्यदल आ -आफ्नो अडानमा रहेपछि शुक्रबार बिहान १० बजे पुन छलफलमा बस्ने सहमति भएको छ ।
बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको र त्यो सकारात्मक रहेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभयो । “सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्नेगरी आजको बैठक समाप्त भएको छ”, मन्त्री कार्कीले भन्नुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गर्नुभएको मन्त्री कार्कीले जानकारी दिनुभयो ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता हिजो बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो । भोलिको बैठकमा एमसिसीलाई टेबल गर्न सत्ता साझेदार दलबीच सहमति जुटाउनुपर्नेमा अध्यक्ष दाहालले जोड दिनुभएको थियो । सत्ता गठबन्धनबीचको सहकार्यलाई निरन्तरता दिँदै अघि बढ्नुपर्ने उहाँको अभिमत थियो ।
बैठकमा बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका नेताहरू सहभागी भएका थिए । कांग्रेसबाट सभापति तथा प्रधानमन्त्री देउवासहित महामन्त्री गगन थापा, प्रवक्ता डा.प्रकाशशरण महत, नेता कृष्ण सिटौलालगायत बैठक सहभागी हुनु भएको थियो ।
यस्तै, माओवादी अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल जसपाबाट डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठको सहभागिता रहेको थियो । भोलि (शुक्रबार)बस्ने संसद बैठकमा एमसीसी टेबल हुनुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको अडान रहेको छ।












