काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्रीमा सपथ ग्रहण गर्दैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज प्रधानमन्त्री नियुक्त गर्ने भएकी हुन् । यसका लागि देउवाका ज्योतिषीले अपरान्ह ४ बजेको समय निकालेका छन् । यता प्रधानमन्त्री ओलीले भने राजीनामा दिनु नपर्ने भएको छ ।
सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्नु भनेर समय नै किटान गरिसकेकोले वर्तमान प्रधानमन्त्री ओलीले राजीनामा दिनुु नपर्ने संविधान तथा कानुनका ज्ञाताहरुले सुझाएका छन् ।
त्यसैले प्रधानमन्त्री ओली आज मध्यान्हसम्म बालकोट फर्किसक्ने र देउवाले आजै अपरान्ह प्रधानमन्त्रीका रुपमा सपथ गर्ने भएका बताइएको छ । सर्वोच्च अदालतले हिजो दिएको परमादेशमा काँग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनेपछि एकाएक नयाँ राजनीतिक सरगर्मी बढेको छ । देउवाले आफ्नो प्रधानमन्त्रीको सपथसँगै सानो आकारको मन्त्रिमण्डल पनि बनाउने बताएका छन्।
प्रधानमन्त्री ओलीको बालुवाटारमा यो सरकारको अन्तिम मन्त्रिमण्डल बैठक हिजो बसेको थियो ।












