एजेन्सी । १६ औं संस्करणको युरो २०२० फुटबलमा आज (मंगलबार)राति दुई खेलहरु हुँदैछन् ।
अन्तिम १६ का अन्तिम दुई खेलमा इंग्ल्यान्ड र जर्मनी आमनेसामने हुँदैछन् भने स्विडेन र युक्रेनबीचको खेल पनि आज राति नै हुँदैछ ।
लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिमको प्रमुख लक्ष्य एक अर्कालाई हराएर क्वाटरफाइनलमा पुग्ने हुनेछ ।
इंग्ल्यान्ड समूह 'डी' बाट अपराजित रहदै समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोडेको थियो ।
जर्मनीले समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा स्थान बनाएको हो । जर्मनीले ३ खेलमा ५ अंक जोडेको थियो ।
यी दुई टिमले हालसम्म ३२ पटक एकअर्काविरुद्ध खेलेका छन् । जर्मनीको पक्षमा १५ पटक खेल रहेको छ भने १३ पटक इंग्ल्यान्डले जितेको छ । ४ खेल भने बराबरीमा सकिएको छ ।
यस्तै स्कटल्याण्डको ह्याम्पडेन पार्कमा स्विडेन र युक्रेनले राति १२ः४५ बजे खेल्दैछन् । दुबै टिम एकअर्कालाई हराएर क्वाटरफाइनलमा पुग्ने दाउमा रहेको छ ।
स्विडेन समूह 'ई' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विडेनले ३ खेलमा ७ अंक जोडेको थियो ।
युक्रेन समूह 'सी' बाट उत्कृष्ट तेस्रो टिम बन्दै अन्तिम १६ मा पुगेको हो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको थियो ।
हालसम्म यी दुई टिमले ४ पटकमात्र एक अर्काविरुद्ध खेलेका छन् । जसमा ३ खेल युक्रेनले जितेको छ भने १ खेल स्वीडेनको पक्षमा गएको छ ।












