काठमाडौं । डेनमार्कका फुटबल खेलाडी (क्याप्टेन) क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । युरो २०२० को समूह चरणको खेल अन्तरगत कोपनहेगनमा डेनमार्क र फिनल्याण्डबिच भईरहेको आजको (शनिबार) खेलमा खेलका दौरान मैदानमा (क्याप्टेन) एरिक्सन अचानक ढलेका थिए । एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो ।
२९ वर्षिय खेलाडी एरिक्सन खेलको पहिलो हाफको ४३ औं मिनेटमा एक्कासी बेहोस भएर मैदानमा ढलेका थिए। मैदानमा लडेर अचेत भएपछि रेफ्रीले तत्काल स्वास्थ्य टिम मैदानमै बोलाए सिपिआर (कार्डियो पल्मोनरी रिससिटेसन) पनि दिएका थिए । झन्डै १५ मिनेट मैदानमा नै उपचार गरेपछि उनलाई स्ट्रेचरमा मैदान बाहिर लगिएको थियो ।
युरोपियन फुटबलको नियामक निकाय यूइएफएले स्वास्थ्य आपत्कालका कारण आजको खेल रद्द गरिएपनि एरिक्सानलाई अस्पताल पुर्याएपछि अहिले दुवै टोलीका खेलाडी र अधिकारीहरुबीच छलफल भइरहेको र यसबारे थप जानकारी दिइने बताएको छ । क्रिस्टियन एरिक्सन पछिल्लो समय टोटेन्हम् हटस्पुर क्लब छाडी ईन्टर मिलानसंग आबद्द भएका थिए ।












