२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

खीरको स्वाद हराउँदै



अ+ अ-

गलेश्वर । आज साउन १५ अर्थात् ‘राष्ट्रिय खीर दिवस’ । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि आवश्यक फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगायत खनिज पदार्थले युक्त दूधबाट बनाइएको खीर खाएर यो दिवस मनाइँदै छ ।

गाउँघरमा गाई भैँसी पाल्ने चलन कम हुँदै गएपछि पोषिलो खीरको मौलिक स्वाद पनि हराउँदै गएको छ । विगतका समय प्रत्येक घरमा गाई भैँसी पालेर दूध, दही, मोही, नौनी खाने चलन अहिले हराउँदै गएकाले वर्षको एक दिनमात्र परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि डेरीको दूधमा खीर बनाएर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाको गुनासो छ ।

हिजोआज गाउँघरमा पनि रड, बालुवा, सिमेन्ट र इँटाका पक्की निर्माणको क्रम बढ्नाका साथै गाईभैँसी पाल्न बनाइने गोठ पनि हराउँदै गएको छ । भएका गोठमा पनि गाईभैँसी होइन मोटर, मोटरसाइकल र अन्य सवारी साधनको विश्रामस्थल बनेको छ ।

भान्छामा बजारबाट खरिद गरी ल्याइने डेरीको दूधले खीर पाक्न थालेकाले खीरको मौलिक स्वाद विस्थापित हुँदै गएको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानीले बताए । “गाउँमा गाईभैँसी पाल्न छोडिसके, बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिठ्ठी लगाएर बनाइएको खीरमा पहिलाको जस्तो स्वाद कहाँ पाउनु”, ६० वर्षीय सिउथानीले भने “दूध, दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए । हिजोआजका केटाकेटीलाई खीर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहैै छैन ।”

गाईभैँसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुने हुँदा खीर बनाइ सेवन गरेमा शरीरलाई पोषणतत्व प्राप्त हुने आयुर्वेद शास्त्रमा उल्लेख छ । त्यस्तै वर्षा ऋतु, झरी–बाँदलका बेला र साउन महिनाको मध्यमा खीर खानाले शरीर स्वास्थ हुने भएकाले साउन १५ लाई खीर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।

बर्सेनि आजका दिन बेनी बजारका डेरी पसलमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुने गर्छ । कडेँल डेरीकी सञ्चालिका राधिका कँडेलका अनुसार साउन १५ मा खीर खानकै लागि अघिल्लो दिन नै साविकको भन्दा ७० लिटर बढी दूध थपिए पनि सबैको माग पूरा गर्न सकिने अवस्था छैन ।

चौधौँ शताब्दीदेखि छिमेकी मुलुक चीनबाट सुरु भएको खीर खाने प्रचलन हाल विश्वका प्रायजसो मुलुकमा फैलिएको छ । विशेष गरी सार्क क्षेत्र, पश्चिम एसिया, उत्तरी अफ्रिका र मध्यपूर्वका देशमा खीर खाने चलन बढिरहेको पाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार देश दूधमा आत्मनिर्भर उन्मुख भएको देखिन्छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूध आवश्यक पर्नेमा अहिले ७८ लिटर दूध प्राप्त हुने देखिएको १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ । दुग्ध उत्पादनका लागि मात्रै देशमा करिब रु ३० अर्बको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । कृषि क्षेत्रमध्ये दूधमा गरिएको लगानी दोस्रो स्थानमा रहेको छ । रासस