काठमाडौं । कोरोना महामारीले विकराल रुप लिएपछि भारतको अवस्था दिनदिनै भयावह बन्दै गएको छ । भारतीय मिडियाका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ३ लाख २० हजार नयाँ संक्रमित थपिएका छन् भने २ हजार ७ सय ६६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । भारतको पछिल्लो सात दिनको कोरोना आँकडाले भारतको अवस्था भयावह भएको देखाएको छ ।
अप्रिल महिनामा अहिलेसम्म ३४ हजार ५ सय ९५ जनाले ज्यान गुमाएकोमा तीमध्ये १७ हजार ३ सय ३३ जनाको मृत्यु पछिल्लो सात दिनमै भएको छ । भारतमा गत मार्च महिनाभन्दा अप्रिलमा ६ गुणा बढीले ज्यान गुमाएका छन् । यता संक्रमितको संख्या पनि उस्तै छ । अप्रिलमा हालसमम ५० लाखभन्दा बढी संक्रमित भइसकेका छन् । त्यसो त कोरोना महामारीले विष्फोटक रुप लिएका शीर्ष तीन देशमा भारत पर्छ । तशर्थ त्यहाँकै सञ्चारमाध्यमहरुले सरकारले कोरोना संक्रिय र मृतकको संख्या आँकडा लुकाएको आरोप लगाएका पनि छन् ।
विभिन्न शहरमा पत्रकारहरुले स्थानीय सरकारले सार्वजनिक गरेको संख्या भन्दा १० गुणा बढीको मृत्यु भएको रिपोर्टिङ गरेका छन् । गत विहीबार सरकारी आँकडा अनुसार कानपुरमा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको थियो तर, एक स्थानीय अखबारले शहरका विभिन्न मसानघाटनमा ४ सय ७६ वटा शव जलेको रिपोर्टिङ गरेको थियो, जसमध्ये धेरैजसो कोरोनाबाटै मरेका थिए ।
भारतामा यतिबेला कोरोनाले बिकराल रुप लिएको कारण अस्पतालमा बेड र अक्सिजनको हाहाकार समेत उत्पन्न भईरहेको छ ।










