सुर्खेत । कर्णाली प्रदेशका चारजना सांसदलाई पदमुक्त गरिएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले एमालेबाट निर्वाचित चारजनाको पद रिक्त भएको जानकारी गराएका हुन्।
पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेको आरोपमा सल्यान प्रदेशसभा (ख)बाट निर्वाचित प्रकाश ज्वाला, कालिकोट प्रदेशसभा (क)बाट निर्वाचित कुर्मराज शाही, डोल्पा प्रदेशसभा (क)बाट निर्वाचित नन्दसिंह बुढा र दैलेख क्षेत्र नं. १ (ख)बाट निर्वाचित अमरबहादुर थापालाई एमालेले पदमुक्त गराएको हो ।
बैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यी चारै जनाले पार्टीको ह्विप विपरीत विश्वासको मत दिएका थिए । एमाले संसदीय दलले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई जानकारी गराएसंगै सभामुखले सांसदहरु पदमुक्त भएको घोषणा गरेका हुन् ।
सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेश सभा सांसदको संख्या ३५ मा झरेको छ । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।











