प्यूठान । जिल्लाको स्वर्गद्वारी नजिकै भएको जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
स्वर्गद्वारी मन्दिर नजिकैको रुमालेमा आज बिहान पवित्र तिर्थस्थल स्वर्गद्वारी दर्शन गर्न जाँदै गरेको लु १ च १६५५ नम्बरको जीप दुर्घटना हुन पुगेको थियो ।
दुर्घटनामा परी जीप चालक गुल्मीको मुसिकोट नगरपालिका–३ का २२ वर्षीय केशव कार्की, जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षका श्याम न्यौपाने, कम्प्युटर अपरेटर रेसुङ्गा नगरपालिका–७ का ३५ वर्षीय सूर्य पन्थी, मुद्दा शाखाका धुर्कोट–७ का ३६ वर्षीय ईश्वर भण्डारी र २७ वर्षीय यमलाल पन्थी गरी ५ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मुना पाण्डे, सन्दीप परियार, कमला पन्थी, सार्थक ज्ञवाली,अनिश बोहरा गीता मुखियालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।












