काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले चिनियाँ बुद्धिस्ट एसोसिएसनको पहिलो अन्तर्राष्ट्रिय सदस्य तथा नेपालको समाज सेवामा कार्यरत चिनियाँ नागरिक सि चोङ योङलाई कृतिमय राष्ट्रदीप चतुर्थ पदकबाट विभूषित गर्नुभएको छ । राष्ट्रपति भबनमा आयोजित कार्यक्रममा चिनियाँ नागरिक सिलाई बिभूषित गर्नुभएको हो । नेपाल सरकारले सबिधान दिवसका दिन उहाँलाई सो विभूषण प्रदान गर्ने निर्णय गरेको थियो ।
नेपालमा रहेर समाज सेवा गर्ने र नेपाललाई विश्वका अरु देशसँगको सम्बन्धमा विशेष योगदान पुर्याउने विदेशी नागरिकलाई यो पदक प्रदान गर्ने गरिन्छ । सिले नेपाल चीन सम्बन्धमा विशेष योगदान पुर्याएको तथा विसं २०७२ को भूकम्प तथा हाल नेपालमा जारी कोरोना महामारीको रोकथामको काम पनि विविध उल्लेखनीय सहयोग गरेकोमा नेपाल सरकारले सो पदकबाट उनलाई विभूषित गरेको हो ।

सि लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बामा चीन सरकारका निर्देशक हुन् । गएको करिब ११ वर्षदेखि प्राय नेपालमै र बढी लुम्बिनीमा बस्दै आएका उनले दुई देशबीचको खासगरी सांस्कृतिक सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भनेर काम गरिरहेका छन् । नेपालमा विसं २०७२ मा गएको भूकम्प तथा हाल जारी कोरोना महामारीमा उनको पहल र समन्वयमा चिनियाँ बुद्धिष्ट एसोसिएनका तर्फबाट ठूलो सहयोग प्राप्त हुदै आएको छ ।
चिनियाँ बुद्धिष्ट एसोसिएसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाका तर्फबाट हालै कोरोना महामारीका समयमा पनि उनको पहलमा नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको छ । चोङयोङले चिनियाँ बौद्धगुम्बाका स्वयंसेवीहरुबाट नेपालका १०० भन्दाबढी बौद्ध गुम्बा, विभिन्न ३० बौद्ध विद्यालय र पाँच हजार जना बौद्धभिक्षुलाई मास्क र अन्य आवश्यक स्वास्थ्य सामग्री वितरण गरेका थिए ।
नेपाललाई समस्या परेका बेला चिनियाँ बुद्धिस्ट एसोसिएसनको तर्फबाट सहयोग जुटाउँदै आएका उनैको पहलमा विसं २०७२ मा गएको भूकम्पपछि बौद्ध स्तूपलगायतको पुनर्निर्माण तथा सहयोगस्वरुप रु एक अर्ब १५ करोडभन्दा बढी आर्थिक सहयोग गरिएको थियो । त्यस्तै भूकम्पका समयमा काठमाडौँ तथा देशका विभिन्न जिल्लामा पुगेर अप्ठेरोमा परेका नेपालीलाई खाद्यान्न, लत्ताकपडा तथा अन्य आवश्यक सामग्रीहरु सहयोग गरिएको थियो ।












