२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरिबोधनी एकादशी: काठमाडौँसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो



अ+ अ-

काठमाडौँ । आज हरिबोधनी एकादशी । काठमाडौँ उपत्यकाका चार नारायण (चाँगुनारायण, इचङ्गु नारायण, विशङ्खुनारायण र शेषनारायण)लगायत देशभरका विष्णु भगवानका मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाउन लागिएको हो ।

काठमाडौँका पशुपतिनाथ र बूढानीलकण्ठ मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । मन्दिरमा बिहानैदेखि दर्शनार्थीहरु पूजा गर्न र तोरण टाँग्न भेला भएका देखिएको थियो । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधिअनुसार पूजाआजा गरी आज दामोदरसँग तुलसीको विवाह गरिदिने प्रचलन छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु भगवान् आज ब्युँझनु हुने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै सोहीअनुसार हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा आज तुलसीको पूजा गर्ने प्रचलन छ । मठलाई गाईको गोबर र रातो माटोले पोतेर सिँगारेपछि फूलको माला लगाइदिएर तुलसीको विवाह गर्ने गरिन्छ ।

तुलसीलाई विष्णुप्रिया पनि भन्ने गरिएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा रहिआएको हो । विष्णु भगवानको प्रतिकका रुपमा तुलसीको तुलसीको मठको नजिकै पारेर निगालाको लिङ्गो गाडेर विधिपूर्वक पूजा गरिन्छ । हरेक वर्षको कार्तिक महिनाभर देवीदेवताहरु तुलसीमै बास गर्छन् भन्ने धार्मिक विश्वास पनि रहिआएको छ ।

हरिबोधिनी एकादशीलाई वर्षभरका अरु एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण मान्ने गरिन्छ । यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिने गरिन्छ । नारायणको पूजा गरी आजको दिन भक्तजनहरु फलाहार गर्ने गर्दछन् । आज सखरखण्ड, पिँडालु, गिठालगायतका कन्दमूल र फलफूल प्रसादका रुपमा खाने गरिन्छ । रासस