२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

आँखाको ज्योति फर्किएपछि…



अ+ अ-

सिरहा : संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी चलाउन कति असहज हुँदो हो ? घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ ।

सिरहा नगरपालिका–६ की ६० वर्षीया दारावती दासको जिन्दगी यस्तै पीडा, सङ्घर्ष र छट्पटीबीच विगत एक वर्षदेखि चलिरहेको थियो । चार–पाँच वर्ष अगाडिदेखि उहाँको आँखाको ज्योति धुमिल हुँदै गएको थियो भने गएको एक वर्षदेखि पूरै ज्योति गुमेको थियो । दैनिक गुजारा चलाउन धौधौ पर्ने दलित परिवारमा उहाँको हेरचाह बुहारी अनितादेवी दासले गरिरहनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उपचार सम्भव भएको थिएन ।

यसबीच वडाले निःशुल्क आँखा शिविर आयोजना गर्यो । उहाँको आँखामा मोतियाबिन्दु भएको पत्ता त लाग्यो तर कसरी आर्थिक जोहो गर्ने त्यसको कुनै भेउ थिएन । आर्थिक अवस्था कमजोर भएका दारावतीजस्तै वडाका अन्य ५५ मोतियाबिन्दुका बिरामीले आइतबार वडाध्यक्ष इन्द्रजित यादवको पहलमा लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालमा गई आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । पुनः आँखाको ज्योति पाएपछि दारावतीजस्तै अन्यको मुहारमा खुसी प्रष्ट देखिन्थ्यो ।

“बुझायत छल, जे आब बुढारी नर्क भगेल, मुदा, अपरेशन भगैल, आँइखक रोशनी हमरा नव जिनगी देलक” (लाग्दथ्यो, बुढ्यौली उमेर नर्क बन्यो, तर अपरेशनपछि आँखाले ज्योति पायो । फेरि नयाँ जीवन पाएझैँ लागेको छ) आइतबार शल्यक्रियापछि आँखाको ज्योति पाएर खुसीले दङ्ग हँुदै दारावतीले भन्नुभयो ।

उहाँजस्तै सोही वडाका ६५ वर्षीया किशोरी यादवले पनि नयाँ ज्योति पाएकामा उपचारमा संलग्न चिकित्सक र सहयोग गर्ने वडाध्यक्षलाई धन्यवाद दिँदै खुसी मनाउनुभयो । “धेरै वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइनँ”, किशोरीले भन्नुभयो, “तर अध्यक्षज्यूले सबैलाई अस्पतालसम्म लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुभयो । उपचार पाएर प्रष्ट आँखा देख्ने भएको छु । अत्यन्त खुसी लागेको छ ।” अन्धकारबाट फेरि यो संसार हामीलाई हेर्नकै लागिरहेछ जनाउँदै उहाँले नसोचेको सुख बुढ्यौलीमा पाएको अनुभूति भएको बताउनुभयो ।

गाउँमा सञ्चालन भएको शिविरले गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको वडाध्यक्ष इन्द्रजितको भनाइ छ । “गाउँमा धेरैजसो न्यून आयस्तर भएका नागरिक, गरिब, दलित र विपन्नको बसोबास हुन्छ, उनीहरू स्वास्थ्यमा समस्या आएपछि उपचार गराउन आर्थिक अभावले गर्दा रोगसँग दिनहुँ लडेर बसिरहन बाध्य छन्, यस शिविरले गाउँका नागरिकलाई धेरै फाइदा पुगेको छ”, उहाँले अगाडि भन्नुभयो, “जे जसरी सकिन्छ, राज्य हुनुको आभास नागरिकलाई दिलाउनु जनप्रतिनिधि तथा सरकारको दायित्व हो ।”

शिविरमा सामान्य प्रकृतिको आँखासम्बन्धी समस्या भएका बिरामीलाई औषधि खान र लगाउन सुझाव दिइएको र शल्यक्रिया गरिनुपर्नेलाई भने उनीहरूको प्रयोगशाला परीक्षण, चिकित्सकलाई दिइने शुल्क, यस अवधिको आवश्यक औषधि र शल्यक्रियापछि केही दिनसम्म लगाउनुपर्ने कालो चश्मासमेत निःशुल्क उपलब्ध गराइएको छ । जनप्रतिनिधि भएको हिसाबले आफ्ना नागरिक रोगसँग लडिरहँदा उपचारका लागि वडाको बजेट पर्याप्त नभएपछि सहयोगी निकाय खोजेर भए पनि नागरिकको उपचार गर्नुपर्छ भन्ने मान्यताले आफू लागिपरेको वडाअध्यक्ष इन्द्रजितले जानकारी दिनुभयो । यसका लागि ‘हेल्पिङ ह्याण्डस नेपाल’को समेत आर्थिक सहयोग रहेको उहाँले बताउनुभयो ।

निःशुल्क आँखा शिविरमा तीन सय पाँच आँखाका बिरामी पहिचान भएकामध्ये ७३ जनामा मोतियाबिन्दु पाइएको थियो । उनीहरूमध्ये पहिलो चरणमा ५५ जनाको शुक्रबारदेखि आइतबारसम्म गरी तीन दिनमा शल्यक्रिया गरिएको र बाँकीको पनि चाँडै गरिने वडाअध्यक्ष इन्द्रजितले जानकारी दिनुभयो ।

उपचारका लागि जिल्लाकै सगरमाथा चौधरी आँखा अस्पताल लहानसम्म आवत जावत गर्नका लागि यातायातको समेत व्यवस्था गरिएको थियो । पछिल्लो समयमा मोतियाबिन्दु उपचारको क्षेत्रमा फिसहुक, फेकोजस्ता नवीन प्रविधि आविष्कार गरी आँखाको उपचार गर्दै आएको अस्पतालले गर्ने गुणस्तरीय उपचारका कारण नेपालसहित छिमेकी राष्ट्र भारतबाट समेत बिरामीको सङ्ख्या बढिरहेको जनाइएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)




भर्खरै