२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चुँदारा समुदायको पेसा सङ्कटमा



अ+ अ-

गुल्मी ।  गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय सङ्कटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिकका सामग्री आउन थालेपछि परम्परागत हातले बनाएका काठका सामग्रीको प्रयोग घटेको मालिका गाउँपालिकाको घमिरका नरबहादुर कार्कीले बताउनुभयो । आयातित प्लास्टिकका सामग्रीले काठका भाँडालाई विस्थापित गरिदिँदा पेसा नै सङ्कटमा परेको उहाँको भनाइ थियो ।

आधुनिक प्रविधिसँगै स्थानीय बजारमा सस्तोमा आकर्षक तथा आधुनिक भाँडाकुँडा प्रयोगमा आउन थालेपछि चुँदारा समुदायको पुख्र्यौली पेसा सङ्कटमा पर्न थालेको हो ।

“ग्रामीण क्षेत्रमा गिठीको काठबाट निर्माण गरिएका ठेका, आरीलगायत भाँडाहरु दूध, दही र मही राख्नका लागि प्रयोग गरिन्छ”, कार्कीले भन्नुभयो, “काठका भाँडामा राखेको दही र मही चाँडो नबिग्रिने हुँदा खानको लागि निकै स्वादिलो र राम्रो मानिन्छ ।” आधुनिकताले गाईभैँसी पाल्ने, दही, मही बनाउनेको कमी हुँदै जाँदा काठका प्रयोगको पनि कमी आएको उहाँको भनाइ थियो ।

पछिल्लो समय गाउँघरमा काठबाट निर्मित सामग्रीहरु बिस्तारै लोप हुँदै जान थालेको मुसिकोट नगरपालिका–२ का रेशम चालिसेले बताउनुभयो । नयाँ पुस्ता बिस्तारै गाउँ छोडेर सहर तथा विदेश पलायन हुने र पुराना पुस्तामा सीप भए पनि बजारीकरण गर्न नसक्दा समस्या भएको उहाँको भनाइ थियो ।

“परम्परागत पेसा र पुराना सामग्रीको प्रयोग तथा कला, संस्कृतिको संरक्षण गर्न स्थानीय पालिका र पेसाकर्मीहरुले खासै चासो दिन सकेका छैनन्”, चालिसेले भन्नुभयो, “सीप जानेकाले हस्तान्तरण गर्न नसक्नु, बजारीकरणको कमीलगायत कारणले काठका भाँडा र भाँडा बनाउने पेसा नै लोप हुँदै जान थालेका हुन् ।”

बजारमा पाइने प्लास्टिकबाट निर्मित भाँडाहरु झट्ट देख्दा आकर्षक हुने र मूल्य पनि काठका भाँडाको तुलनामा कम पर्ने भएकाले यस्तो समस्या आएको गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताउनुभयो । परम्परागत सामग्री, कला तथा संस्कृतिसँग जोडिएको काठका भाँडा बनाउने पेसाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि पालिकाले चुँदारा समुदायलाई सहयोग गर्ने नीति बनाएको उहाँले जानकारी दिनुभयो ।

“परम्परागत शैलीबाट निर्माण हुने काठका सामाग्री बनाउन बढी समय लाग्ने र खर्च पनि बढी हुन्छ । बजारमा यस्ता सामग्रीको खपत निकै कम हुन थालेको छ”, परम्परागत रुपमा यो पेसा गर्दै आउनुभएका यमन सुनारले भन्नुभयो । बिक्री कम हुने भएकाले यो व्यवसायबाट जीविकोपार्जनमा समस्या हुन थालेको उहाँले बताउनुभयो ।

“गाउँघरमा पाइने काठबाट निर्माण गरिएका सामाग्री बिक्रीका लागि लैजाँदा कहिलेकाहीँ त बिक्री नै नभएर त्यत्तिकै फिर्ता ल्यानुपर्ने बाध्यता छ”, सुनारले दुखेसो पोख्नुभयो । काठबाट निर्मित भाँडाको महत्वका बारेमा जानकारी नभएकाले पनि पछिल्लो समयमा चुँदारा समुदायको पेसा सङ्कटमा परेको उहाँले बताउनुभयो ।

सुनारका अनुसार गाउँघरमा गिठीको काठबाट निर्माण गरिएका ठेकाको मूल्य बजारमा प्रतिमाना रु सात सयदेखि रु एक हजारसम्ममा बिक्री हुँदै आएको छ । जिल्लामा आयोजना गरिने मेला महोत्सवसँगै ग्रामीण क्षेत्रका बजार र सदरमुकामका केही सहकारी पसल र कोशेली घरहरुमा यस्ता प्रकारका सामग्रीहरु बिक्रीका लागि राखिने गरिएको उहाँले जानकारी दिनुभयो । रासस