काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताउनु भएको छ । बुधबार महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो । संसद विघटनलाई असंवैधानिक कदम भएको र संविधानले संसद विघटनको कल्पनै नगरेको भनी संविधानविद्हरुले चर्को आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो ‘संविधानले तय गरेका निर्माण गरेका नयाँ संरचनाहरु, तिनको सञ्चालन आदिका सम्बन्धमा पनि संवैधानिक र कानूनी व्यवस्थाहरु नयाँ रहेका छन । संविधान कार्यान्वयनका सम्बन्धमा हामीले थुप्रै नयाँ कानूनहरु निर्माण गरेका छौं । कतिपय कानूनहरु संविधानको व्यवस्था अनुकुल बनाउनका लागि संशोधन र परिमार्जन गरेका छौं ।’
प्रधानमन्त्री ओलीले आरोपितलाई यथोचित फैसला वा दोषीलाई दण्ड जस्ता कुराहरुमा ज्यादै महत्वपूर्ण प्रभाव पार्ने कार्यहरु नेपालको संविधान र कानूनहरुको कार्यान्वयन र तिनको कार्यान्वयन प्रभावकारिता सन्दर्भमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास समेत व्यक्त गर्नुभयो ।












