३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटनबारे औपचारिक छलफल गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्दै छ । बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव ल्याएको र राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरेपछि नेपाली राजनीतिमा अहिले तरङ्ग पैदा भएको छ । साथै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको मिति घोषणा गरिसकेको छ । तर प्रधानमन्त्री र राष्ट्रपतीको यस्तो कदमको चारैतिरबाट आलोचना भईरहेको छ । आजको केन्द्रीय समितिको बैठकमा कांग्रेसले यसैबारे एउटा औपचारिक धारणा बनाउन लागेको हो । 

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरुले यसअघि नै ओलीको कदम गलत भएको प्रतिक्रिया दिईसकेका छन् । साथै कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरुले यस्तो अवस्थामा कांग्रेसले सशक्त प्रतिरोध गर्नुपर्ने आवाज पनि उठाउँदै आएका छन् ।