काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आइतबार बासेको स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव कुमार नेपाल समूहका सदस्यहरु उपस्थित भएको बैठकले ओलीमाथि अनुशासनको कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसका लागि आगामी ७ गते मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाउने तय भएको छ । बैठकले स्थायी समितिको रिक्त रहेको एक सदस्यमा कृष्णबहादुर महरालाई मनोनित गर्ने निर्णय समेत गरेको छ ।
बैठकले प्रधानमन्त्रीको निर्णय बिरुद्ध कानुनी उपचार खोज्ने निर्णय गर्दै प्रधानमन्त्रीको कदम लोकतन्त्र माथिको निर्मम प्रहार भएको ठहर गरेको छ ।












