काठमाडौं । नेपालमा विप्रेषण भित्र्याउने अग्रणी संस्थाको रुपमा सुपरिचित आइएमई ग्रुपले विदेशमा कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउन बाध्य भएका नेपालीहरुका परिवारलाई ‘आइएमई भरोसा कोष’ बाट राहत रकम वितरण शुरु गरेको छ ।
शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष समेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा उक्त रकम वितरण शुरु गर्नुभयो । कामदारको रुपमा विदेश पुगेका मृतकका परिवारमध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आइएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको हो ।
आज सहयोग रकम पाउनेहरुमा कोरोनाभाइरस संक्रमणका कारण साउदी अरबमा मृत्यु भएका ५ जनाको परिवार तथा बहराइन र कतारमा मृत्यु भएका एकएक जनाको परिवार रहेका छन् । कोषले प्रति परिवार ५० हजार रुपैयाँका दरले रकम प्रदान गरेको छ ।
चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताउनु भयो ।आइएमईले व्यवसाय र नाफा मात्र हेर्दैन नेपाली दाजुभाइको संकटको साथी पनि भएको अध्यक्ष ढकालले बताउनु भयो ।
आइएमईले २०७६ साल पुस १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनाका कारण विदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुस मसान्तभित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।












