काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २२ दशमलव ७० अंक घटेर २ हजार ३२ दशमलव ५१ विन्दुमा पुगेको छ । आजको कारोबार शुरु भएको ५ मिनेट नबित्दै २० अंकले घटेर राताम्मे बनेको हो। बिहिबार कारोबारमा आएका १९५ कम्पनीको रू ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ बरावरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका १२ समूहको परिसूचकमध्ये लघुवित्त कम्पनीको परिसूचक बाहेक सबै समूहको परिसूचक घटेको छ । लघुवित्त समूहको परिसूचक शून्य दशमलव २८ प्रतिशत वृद्धि भएको हो । लघुवित्त कम्पनीहरुको शेयर मूल्य बढेसँगै परिसूचक बढेको हो । सबैभन्दा बढी महुली सामुदायिक लघुवित्तको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४३९ पुगेको हो । त्यसैगरी दोस्रोमा एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरको ९ दशमलव ८० प्रतिशत र माउण्टेन इनर्जी नेपालको शेयरमूल्य ९ दशमलव ७९ प्रतिशतका दरले वृद्धि भएको छ ।
बिहिबार सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । कम्पनीको रू. ८० करोड २५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको हो । विगत केही दिनदेखि बढ्दै आएको नारायणी डेभलपमेण्ट बैंकको शेयर मूल्य बिहिबार सबैभन्दा बढी ७ दशमलव ५१ प्रतिशत घटेको छ । बढीरहेको कम्पनीको शेयरमा लगानीकर्ताले खरीदभन्दा बढी विक्री गर्न थालेसँगै शेयर मूल्य घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.५९१ पुगेको छ । त्यस्तै दोस्रोमा नेपाल बैंकको शेयर मूल्य ६ दशमलव २५ प्रतिशत घटेको छ ।












