३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुन्छ ? (भिडियो सहित )



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्यहरुले आगामी स्थायी कमिटी बैठकबाट नेकपा भित्रको विवाद समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

पार्टीको विवाद सचिवालयमा समाधान हुन नसकी स्थायी कमिटीमा आएको भन्दै स्थायी कमिटी सदस्यहरुको जोड पार्टी एकतालाई जोगाई विधि, पद्दति र प्रणालीमा लैजाने रहेको बताएका छन् । नेकपा स्थाायी कमिटी बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले  संबैधानिक  परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा भित्रको विवाद अझ उत्कर्षमा पुगेको छ  ।

नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र  पौडेलले बुधबारको स्थायी कमिटी बैठकमा पनि पार्टी एकतालाई फुटबाट जोगाउँँदै एकताबद्ध बनाएर लैजाने मत नै प्रमुख रुपमा आएको बताउनु भयो । उहाँले भन्नुभयोे “सबैले पार्टी एकताा जोगिनुपर्छ, पार्टीलाई विधि, पद्धति र प्रणाालीमा लैजानुपर्छ । लोकतान्त्रिक मुल्य मान्यता अनुरुप संविधानमा व्यक्त भएका  प्रणालीलाई संस्थागत गरिनुपर्छ । तिनलाई कमजोर हुन दिनु हुँदैन । हामीले लेखेको संविधानलाई कहिँ कसैले कतै  दुरुपयोेग गर्नु हुँदैन । लोकतान्त्रिक प्रणालीलाई पार्टी भित्र  र बाहिर, आम राज्यमा ढिक ढंगले लागु गर्नुपर्छ भन्ने कुरा ठिक ढंगले उठ्यो ।”

आगामी स्थायी कमिटी बैठकमा दुवै अध्यक्षले प्रस्तुत  गरेको प्रतिवेदनलाई छलफल गरी आन्तरिक समस्या हल गर्दै पार्टी र सरकारको कामलाई प्रभावकारी बनाउनुपर्नेमा केन्द्रित हुनुपर्ने उहाँको जोड  छ । “अध्यक्षद्वयले संंस्थागत रुपमा ल्याएकोे डकुमेन्ट भएकोले त्यहि रुपमा ग्रहण गर्ने र त्यसलाई औपचारिक रुपमा छलफल गरी दुवेैलाई सम्पतिको रुपमा ग्रहण गर्दै तेस्रो विकल्पमा पनि जान सक्छौँ । छलफल चाहिँ टुंगो लगाईने गरी हुनुपर्छ र हुन्छ ।”

स्थायी कमिटीले विवाद समाधानमा पहलकदमी  लिनेतर्फ अघि बढेको उहाँकोे भनाई छ । “सचिवालयमा समाधान हुन नसकेको विषय स्थायी कमिटीमा आएपछि हल हुने  दिशातिर गयो । स्थायी कमिटी सदस्यले मेहनत गर्नुभयो । एकतालाई जोगाउनुपर्छ भनेर  पहल गरेको हुँदाखेरी परिस्थिति प्रतिकुल हुनबाट रोकिएर हल हुने दिशातिर गएका छन् ।” नेता पौडेलको भनाई छ ।

स्थायी कमिटी सदस्य गणेश शाहले पार्टीको जारी विवादलाई अध्यक्षद्वयले मात्रै समाधान गर्न नसक्ने भन्दै स्थायी कमिटी बैठक लामो समयसम्म राखेर भएपनि समस्या समाधान गरेरै छाड्नुपर्ने बताउनुभएको छ । फुटपरस्त गतिविधिलाई निरुत्साहित गर्नुपर्ने उहाँको भनाई छ । नेता शाहले भन्नुभयो “पार्टीलाई फुट्न दिनुहुन्न  । पार्टीलाई सुदृढ बनाउनको  निम्ति अध्यक्षद्वय, सचिवालय, स्थायी कमिटीका सदस्यले  भुमिका खेल्नुपर्दछ । यो पक्ष र त्यो पक्षमा पार्टीलाई विघटन गर्ने, फुट ल्याउने कुनैपनि गतिविधिलाई हामिले परास्त गर्नुपर्छ । पार्टी भित्रको समस्यालाई वार्ता सम्वादबाट समाधान गर्नुपर्छ । दुई अध्यक्षले  मात्रै समस्याको समाधान गर्न सक्दैनन् । त्यसैले बैठकबाटै सबै समस्याको समाधान निकाल्नुपर्छ ।”

पार्टीले पहिले गरेका सबै निर्णयको इमान्दारीतापुर्वक कार्यान्वयन र छिट्टै महाधिवेशनमार्फत पार्टी नेतृत्व चयन गर्नु नै निकास रहेको उहाँको तर्क छ । “निकास भनेको हामिले गरेका सहमति, समझदारी र निर्णयहरुको इमान्दारीतापुर्वक कार्यान्वयन  नै हो । अन्तरपार्टी  निर्देशनको निर्णय कार्यान्वयन हुन सकेको छैन । एकले मुख्य रुपमा सरकार चलाउने र अर्कोले पार्टी चलाउने साथै महत्वपूर्ण निर्णयमा अध्यक्षद्वय र सचिवालय सदस्य लगायत छलफल, सर–सल्लाह गर्ने मुल सहमति हो । अब पार्टीको विशेष महाधिवेशन गरेर निर्वाचन मार्फत नै पार्टीको नेतृत्व चयन गर्ने दिशातर्फ अघि बढ्नुपर्छ  । विधान अनुरुप नेतृत्वको निर्माण गर्नुपर्छ । नेता शाहको भनाई छ ।”

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले बुधबारको स्थायी कमिटी बैठकमा पार्टीका अध्यक्षद्धयले प्रस्तुत गरेको प्रतिवेदनमा छलफल गर्ने तयारी रहेपनि अचानक अध्यादेश प्रकरण आएकोले छलफल विषयान्तर भएको बताउनुभयो । प्रतिवेदनमाथि छलफल गरिने र आगामी बैठक पछि निचोड निकाल्ने उहाँको भनाई छ ।

प्रधानमन्त्री छलफल र बैठकबाट भागेको भन्दै शाक्यले भन्नुभयो, “उहाँले जे जे भन्नुभएको भएपनि प्रतिवेदन माथि छलफल चल्नैपर्छ । पार्टी विधि र विचार शुन्य भएको छ । निष्कर्षमा पुर्याउनुपर्छ । प्रधानमन्त्री ओली छलफलबाट भाग्न पाउनुहुन्न ।”

आगामी स्थायी कमिटी बैठकपछि पार्टी विवाद समाधानको निष्कर्षमा पुग्ने र केन्द्रीय कमिटीमा लैजाने नेता शाक्यको भनाई छ ।

नेकपाले स्थायी कमिटी बैठक पौष ५ गते र केन्द्रीय कमिटी बैठक पौष १० गते बोलाएको छ ।