काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताहरुलाई विभिन्न चार शीर्षकमा रकम सापटी दिने भएको छ । योगदानकर्ता सापटी अन्तर्गत योगदानकर्ताले विशेष सापटी, घर सापटी, शैक्षिक सापटी र सामाजिक कार्य सापटी प्राप्त गर्न सक्नेछन् ।
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम लगानी गर्ने सम्बन्धी व्यवस्था रहेको छ । उक्त व्यवस्थालाई कार्यान्वयन गर्न मंसिर १० मा ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७ स्वीकृत भएसँगै यी सुविधा अघि सारिएको कोषले जनाएको छ ।
योगदान रकमको आधारमा वित्तीय आवश्यकता पुरा गर्न विशेष सापटीको व्यवस्था गरिएको हो । योगदान रकमको आधारमा समितिले तोकेको मापदण्ड अनुसार यो सापटी प्रदान गरिनेछ । आवास निर्माणका निम्ति धितोमा आधारित भएर योगदानकर्तालाई घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा यूनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न ७५ लाख रुपैयाँ अथवा १५ वर्षको तलब रकम जुन कम हुन्छ त्यही बराबर घर सापटी प्रदान गरिने व्यवस्था गरेको जनाएको छ ।
यस्तै धितोमा नै आधारित रहेर योगदानकर्ता आफैँ वा निजको पतिरपत्नी, छोरारछोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययन गर्न ३५ लाख रुपैयाँ बराबरको शैक्षिक सापटीको व्यवस्था गरिएको कोषले जनाएको छ । कोषले योगदानकर्तालाई भइपरि आउने सामाजिक कार्यको लागि भनेर ५ लाख रुपैयाँ बराबरको सामाजिक कार्य सापटीको व्यवस्था समेत गरेको छ ।
साथै परियोजना कर्जा अन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सह वित्तीयकरण कर्जा रहेका छन् । यसैगरी लगानीका अन्य क्षेत्रहरुमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गरी लागानीका क्षेत्रहरु पहिचान गरिएको कोषले जनाएको छ ।
योगदानकर्ता विशेष सापटी लगायत अन्य सबै सापटीहरुको कूल योग एक करोड रुपैयाँ वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमा भित्र रही धितोले कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्ने कोषले जनाएको छ । यस्तै सापटीका लागि कोषमा कम्तिमा पनि तीन वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने तर स्वाप गरेको अवस्थामा समयको हद नलाग्ने व्यवस्था लगानी कार्यविधिले गरेको छ ।












