२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घोडेपानी आउने पर्यटकलाई पोखरेबगर–घोडेपानी सडक नै समस्या



अ+ अ-

म्याग्दी:  पहिरोका कारण म्याग्दीको पोखरेबगर–घोडेपानी सडकमा दुर्घटनाको जोखिम एवं यात्रुलाई सास्ती भएको छ । सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ को लुलिया, हल्लेखर्क र वडा नं ५ को घोप्टेखर्कको पहिरोले आवतजावतमा दुःख दिने गरेको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, खिवाङ, फलाते, चित्रे हुँदै पर्यटकीयस्थल घोडेपानी जोड्ने २१ किलोमिटर दूरीको पोखरेबगर–घोडेपानी सडकमा लुलिया, हल्लेखर्क र घोप्टेखर्कको पहिरो चुनौती बनेको छ । लुलिया र हल्लेखर्कमा साँघुरिएको र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर जिप, ट्रयाक्टर र मोटरसाइकल आवतजावत गरे पनि घोप्टेखर्कको पहिरोले घोडेपानी दुई महिनादेखि यातायात सम्पर्कबिच्छेद भएको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।

“गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीययाम सुरु हुन लागे पनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।”

घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् । लुुलियामा करिब ५० मिटर र हल्लेखर्कमा एक सय मिटर दूरीमा पहिरोसँगै सडक बगेको छ । लुलिया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुन नसकेको अन्नपूूर्ण–६ बिरौटाका कृषक शिव खड्काले बताउनुभयो ।

बिरौटाको फार्मबाट पोखरेबगर जाने क्रममा शनिबार खड्का चढेको मोटरसाइकल लुलियाको पहिरोमा पल्टिएर करिब एक सय लिटर दूध, दही पोखिएको थियो । “साँघुरो, घुम्ती र ग्रेड नमिलेको सडकमा जोखिम मोलेर मोटरसाइकल र जिप उकाल्नुुपर्छ”, उहाँले भन्नुभयो, “याँ ठाउँमा ज्यानको माया मारेर सवारीसाधन चलाउनुपर्छ । यस ठाउँको सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधानका लागि बेवास्ता भएको छ ।”

अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो । अन्नपूूर्ण गाउँपालिकाको वडा नं ५ र ६ का बासिन्दाका साथै घोडेपानी जाने आउने पर्यटकले यो सडक प्रयोग गर्छन् ।

वार्षिक ३० हजारजनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् । पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।

अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवातिलिजा पुनले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेटेर पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो । रासस