काठमाडौं । नेपालमा यतिखेर कूटनीतिक सम्बन्धको दायारा बढेको देखिएको छ । नेपाल सरकारले सुन्तुलन गर्न नसक्दा कूटनीतिक रुपमा भारतको आइसोलेसनमा परेको ठानिएकोमा पछिल्लो समयमा नेपाल भारतबीचको कूटनीतिक सम्वादको ढाको खुलेको छ । यो समाचार तयार पार्दासम्म भारतका विदेश सचिव नै नेपालको भ्रमणमा छन् । उनले नेपालका आफ्ना समकक्षीबाट शुरु गरेको कूटनीतिक वार्ताको शृंखला प्रधानमन्त्रीसम्मै पुगेको छ र यो सकारात्मक पनि रहेको भनिएको छ । यसअघि नेपालमा भ्रमणमा भारतका दुई सुरक्षा अधिकारी, रअका प्रमुख र सेनाअध्यक्ष आएका थिए । ती अधिकारीहरुको भ्रमणलाई कूटनीतिक भन्न नमिल्ने भन्दै प्रधानमन्त्रीकै आलोचना भएकोमा अहिले भने भारतकै विदेश सचिव यहाँ आइपुगेका छन् । जसलाई भारतीय प्रधानमन्त्रीको विशेष दूतका रुपमा पनि लिन सकिन्छ र यसै हैसियतमा उनले प्रधानमन्त्री ओलीसँग वार्ता पनि गरेका छन् ।
यसरी दक्षिणतर्फको नेपालको लामो ‘ग्याप’ पछि कूटनीतिक मौनता तोडिएसँगै यता उत्तरी छिमेकी मुलुकबाट पनि नेपालमा भ्रमणको शृंखला शुरु भएको छ । चीनबाट तत्कालका लागि चिनियाँ रक्षामन्त्री वेई फेङहे आगामी आइतबार नेपाल भ्रमणमा आउँदैछन् । उनी चीनको मन्त्रिस्तरका पाहुना भएकोले यसमा त कूटनीतिक हैसियतको लेप नलगाइने कुरै भएन । यसका कारण पनि नेपालमा पछिल्लो समय परराष्ट्र सम्बन्ध सुधारका केही सकारात्मक लक्षणहरु देखिएको विश्लेषकहरु बताउँछन् । जानकारहरु भन्छन्– नेपालको परराष्ट्र सम्बन्धको कुरा गर्दा नेपालको सम्बन्धको पचास प्रतिशत नेपालका दुई छिमेकी देश हुन् भने अरु विश्व पचास प्रतिशत । त्यसैले नेपालले यी दुई छिमेकीलाई मात्र सन्तुलन गर्न सक्यो भने देशको विदेश नीति सफल हुनेछ, देशले पनि फाइला लिनेछ ।
उत्तरी छिमेकी मुलुक पछिल्लो आर्थिक सम्पन्न देश हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा स्थापित हुन खोजेको छिमेकी आर्थिक समृद्धिको सागर नै भएकोले हामीले त्यहाँबाट कति पानी अउभाउन सक्छौँ भन्ने कुरा त हामीमै निर्भर रहन्छ । चीनका रक्षामन्त्रीले खासगरी चिनियाँ राष्ट्रपतिकै सन्देश बोकेर आउनेछन् । उनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री ओलीसँग वार्ता गर्नेछन् । संयोगबस यतिखेर रक्षामन्त्रीको कार्यभारमा पनि प्रधानमन्त्री नै छन् । जसका कारण पनि उनीसँगको वार्ताको विशेष महत्व रहने छ ।
रक्षामन्त्री वेई फेङहे चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूतका रुपमा काठमाडौं आउँदै छन् । चिनियाँ रक्षामन्त्री राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतवार विशेष जहाजबाट काठमाडौंमा उत्रिने तालिका छ । परराष्ट्र मन्त्रालय र चिनियाँ राजदूतावासले रक्षामन्त्री फेङ्हेको नेपाल भ्रमणको तयारी छुट्टाछुट्टै गरिरहेका छन् र यो भ्रमण राजनीतिक भ्रमण हुने पनि बताइएको छ ।
खासमा दुई दशकभन्दा लामो समयपछि भएको चिनियाँ राष्ट्रपति सि चिनफिङको भ्रमणका बेला भएका सहमति तथा सम्झौताबमोजिमको काम यहाँ हुन सकेको छैन । नेपाल सरकारले विआरआइ परियोजनादेखि लिएर अरु पनि चीनसँग हुने भनिएका आयोजनाहरुको प्रगति केही अघि बढाएको छैन । अर्कातर्फ नेपालले हस्ताक्षर गरेको विआरआइ आयोजनाको कार्यान्वयनका लागि गरेको सम्झौतापछि त्यस विषयमा खासै प्रगति हुन सकेको छैन भने उता अमेरिकी परियोजना एमसिसिका बारेमा भने नेपालमा व्यापक मात्रामा चर्चा हुने गरेको छ । यसप्रति विगतदेखि नै चिनियाँ पक्षको चासो रही आएको छ । यस विषयमा पनि रक्षामन्त्रीले वार्तामा कुरा उठाउने स्रोतले जनाएको छ ।
पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवाद चरम सीमामा पुगेको छ । यस सयममा यी चिनियाँ उच्च अधिकारीले राष्ट्रपतिको सन्देश लिएर सिको दूतकै रुपमा आउन लागेकोले पनि यसलाई बडो चासोका साथ हेरिएको छ ।












