२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोमसोमको सहायक गन्तव्य क्षमाताल



अ+ अ-

म्याग्दी : चारैतिर सल्लाको वनको बीचमा रहेको ठाउँमा गोलाकार र नीलो रङको ताल । पूर्वतर्फ उभिएको निलगिरि हिमाल । तालमा देखिने हिमालको छायाँ । शान्त र एकान्त वातावरण । चराहरूको चिरबिर–चिरबिर आवाज । नजिकैको खर्कमा रहेका भेडाच्याङ्ग्रा, चौँरीगाई र घोडाका गोठ ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ मा रहेको क्षमातालको मनमोहक र सुन्दर छ । समुद्री सतहदेखि तीन हजार चार सय ५० मिटर उचाइमा रहेको क्षमाताल पुग्न जोमसोमबाट ठिनी हुँदै ४५ मिनेट सवारीसाधन र एक घण्टा पैदलयात्रा गर्नुपर्छ ।

निलगिरि हिमालको उत्तरपश्चिमी मोहोडाको फेदीमा रहेको क्षमाताल गोलो आकारको छ । ठूलो तालको नजिकै केही माथि अर्को सानो र गोलो आकारको ताल छ । करिब तीन सय मिटर लम्बाइ र एक सय ५० मिटर चौडाइमा फैलिएको नीलो रङको तालमा निलगिरि हिमालको छायाँ देखिने घरपझोङ गाउँपालिका–५ ठिनीका पूूर्णलाल थकालीले बताउनुभयो ।

“जानअन्जानमा गरेका गल्तीलाई सम्झिएर क्षमा माग्ने र कमजोरी नदोहोर्‍याउने प्रतिबद्धतासहित स्थानीयले पूजाआजा गर्ने भएकाले क्षमा नामकरण गरिएको यो ताल वरपर लसुन र प्याज प्रयोग गरिँदैन”, थकालीले भन्नुभयो, “पहिले स्थानीय युवायुवती बर्खामा वनभोज खान आउने क्षमातालमा पछिल्लो दुई वर्षयता विदेशी र स्वदेशी पर्यटक पनि आउन थालेका छन् ।”

ताल परिसरमा बसेर घण्टौँसम्म टहलिन, निलगिरि हिमाल र हिमालबाट खस्ने हिउँपहिरो अवलोकन गर्न यहाँ सौखिन किसिमका पर्यटक आउने गरेका जोमसोमको सिन्तामणि होटलका कर्मचारी अनिष गौचनले बताउनुभयो । दुई जना रसिया र एक जना नेपाली पर्यटक घुमाउन क्षमताल पुगेका गौचनले यो ठाउँलाई पर्यटकले रूचाएका बताउनुभयो । “मुस्ताङको पाँच दिनको हाम्रो होटलको प्याकेजमा क्षमाताललाई पनि समावेश गरेका छौँ”, उहाँले भन्नुभयो, “हिमाल हेर्दै हाइकिङ गरेर क्षमाताल घुम्न आउने पर्यटकबाट राम्रो प्रतिक्रिया पाएका छौँ ।”

मुस्ताङ घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउन क्षमाताललाई जोमसोमको सहायक गन्तव्यका रूपमा विकास गर्न लागिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिङ लालचनले बताउनुभयो । क्षमातालको धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचारप्रसारका साथै तालसम्म पुग्ने र त्यहाँदेखि तिलिचो ताल जाने पदमार्ग निर्माण गर्ने कामलाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।

क्षमातालको नजिकै रहेको कैशाङमा नेपाली सेनाको उच्च स्थानको तालिम केन्द्र छ । तिब्बतबाट भागेर आएका खम्पा विद्रोहीहरूलाई भगाएर नेपाली सेनाले क्याम्प बनाएर बसेको हुँदा कैशाङ सामारिक महत्वको सुरक्षाका हिसाबले संवेदनशील ठाउँ पनि हो । कैशाङ क्याम्पसम्म सडक पुगे पनि सुुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर वैकल्पिक पदमार्ग बनाइएको छ ।

ठिनीखोलाको बगरैबगर यात्रा गर्नुपर्ने भएकाले बर्खायाममा बाढी आउँदा समस्या हुने गरेको छ । ताल परिसरमा सार्वजनिक शौचालय र खानेपानीको व्यवस्थापन गर्नुपर्ने त्यहाँ पुगेका पर्यटकले बताएका छन् ।रासस