२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटार नै कोरोनाको हटस्पट बनेपछि किन नबढोस् जनतामा निरासा र त्रास ?



अ+ अ-

काठमाडौं। बालुवाटार मुलुकका कार्यकारी प्रमुखको सरकारी निवास । नीति नियम या कानुनहरुको मस्यौदा गर्ने तथा कानुन कार्यान्वयन गराउने ठाउँ । अर्थात् देशको शासन सञ्चालन गर्ने ठाउँ । हाल देश कोरोना भाइरसले आक्रान्त छ । यस्तो अवस्थामा देशमा महामारीको रोकथाम र नियन्त्रणका लागि कार्यक्रम बनाउने र उदाहरणीय काम प्रस्तुत गरी देशव्यापी रुपमा प्रभाव देखाउने स्थल । यतिमात्र नभई देशलाई, देशवासीहरुलाई यो महामारीको अवस्थामा सान्त्वना तथा ढाडस दिने मुख्यालय । जसको आश्वासन, कार्यपद्दति र सान्त्वनाले नै आधाआधी रोग निको हुन सकोस् र जनतामा विश्वास र भरोसा उत्पन्न हुन सकोस् । निर्देशन या उपदेश दिनुपर्ने व्यक्ति या निकाय आफैँ उदाहरणीय र नमूना हुनुपर्ने त प्राकृतिक नियम नै हो । जस्तो कि आफैँ चुरोट पिउने चिकित्सकले चुरोटका बेफाइदा बताउँदा विरामीलाई विश्वास नहुन सक्छ ।

तर त्यस्तो स्थल हिजो अकस्मात संक्रमित बनेको समाचारको तरंग हिजो देशव्यापी बन्यो एकैछिनमा । त्यो पनि एकाधलाई या सामान्यलाई होइन कि एकै कार्यालयका आधाभन्दा बढी कर्मचारीलाई । यो महामारी एकजनमा संक्रमण भएपछि टोल, गाउँ, कार्यालय या घर नै सिल गर्नुपर्ने अवस्थाको हो । तर कुनै एकै कार्यालयमा ७० जना भन्दा बढीलाई यो संक्रमणले संक्रमित बनायो भने त्यो कार्यालयका हालत के हुन्छ ? तर यहाँ त्यो कार्यालयको मात्र नभएर देशकै चिन्ता बढेको छ । यस्तो भरोसाको ठाउँ नै यसरी निरीह रुपमा संक्रमित भएर मुलुकको कार्यकारी प्रमुखकै सचिवालय र उनको वरिपरिका त्यहाँका जिम्मेवार पदाधिकारीहरुले म पनि संक्रमित भएँ, म पनि संक्रमित भएँ भनेर फेसबुकमा लेख्ने र समाचार लेखाउने प्रतिस्पर्धा देखिएपछि जनतामा निरासा देखिने नै भयो ।

निराशा मात्र होइन हिजोको एकाएकको त्यो समाचारले जनतामा त्रास पनि थपिदिएको छ । मुलुककै कार्यकारी प्रमुखको सरकारी निवासजस्तो सुविधासम्पन्न ठाउँमा रहेका अधिकारी नै सुरक्षित नभएपछि हाम्रो हालत के होला भनेर नागरिकले निरास व्यक्त गरेका छन् ।  यसले नागरिकमा केही आक्रोस पनि थपिदिएको छ । देशमा नीति नियम बनाउने र कार्यान्वयन गर्ने निकायका अधिकरीले नै के जनस्वास्थ्यको न्यूनतम मापदण्ड पालना गरेका छन् कि छैनन् ? यो प्रश्न पनि जनतामा उठेको छ । उनीहरुलाई एकै समूहमा बस्ने या भिडभाडमा काम गर्नुपर्ने के त्यस्तो बाध्यता पर्यो र यो हदमा उनीहरु संक्रमित भएका हुन् भन्ने प्रश्न पनि उठाइदिएको छ । यो पछिल्लो अवस्थाले मुलुकका कार्यकारी प्रमुख र त्यो कार्यालयका अरु जिम्मेवार पदाधिकारीले जनतालाई जनस्वास्थ्यका मापदण्ड पालना गर्नु, सुरक्षित रहनु, भिडभाडमा नजानु भनेर अब के कसरी भन्ने ? अनि जनताले के मान्ने ? कसरी पताउने ?

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक प्राडा. दिव्यासिंह शाह कोरोना संक्रमित भइन्। प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहे पनि दोस्रो पटक मिर्गौला फेरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य नियमित चेक जाँच गरिरहनुपर्छ। उनको स्वास्थ्य हेर्ने चिकित्सक नै कोरोना पोजेटिभ भएपछि बालुवाटामा रहेका सल्लाहाकारहरु, स्वकीय सचिव, निजी सहयोगी र सुरक्षाकर्मीहरुको पनि कोरोना परीरक्षण गरियो। शनिबार कोरोना परीक्षणको रिपोर्ट आउँदा बालुवाटारमा कोरोना भयानक रुपमा फैलिएको देखिएको छ। बालुवाटारमा प्रधानमन्त्री ओलीसँग निकट सम्पर्कमा रहेका सल्लाहाकारहरु र स्वकीय सचिबसहित ७४ जनामा कोरोना संक्रमण देखिएको छ। प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहाकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहाकार डा। राजन भट्टराई , प्रेस सल्लाहाकार सूर्य थापा र स्वकीय सचिब इन्द्र भण्डारी संक्रमित भएको पुष्टि भएको छ। यस्तै बालुवाटार सुरक्षामा खटिएका नेपाली सेनाका २८, सशस्त्र प्रहरीका १८, जनपद प्रहरीका २१ र राष्ट्रिय अनुसन्धानका ३ गरी कुल ७४ जना संक्रमित भएका छन्।