२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजकीय संविधान दिवसमा बिर्सिएका सुशिल !



अ+ अ-

काठमाडौं । माओवादीका सशस्त्र सेनाको समायोजन कार्यक्रम अन्तर्गत नेपाल सरकारलाई क्यान्टोनमेन्ट हस्तान्तरण गर्ने कार्यका लागि चितवनको शक्तिखोरमा केही वर्षअघि नेपाल सरकारले नै एक विशेष कार्यक्रमको आयोजना गरेको थियो । प्रधानमन्त्री थिए माधव नेपाल । सरकारका धेरै मानिस त्यहाँ थिए, सरकारी उच्चपदस्थहरुको झन् कुरै भएन । प्राय सबैजसो राजनीतिक दलका नेताहरु बोलाइएको थियो । कार्यक्रम सरकारी खर्चमा भव्य बनाइएको थियो । त्यहाँ भाषण गर्नेमा भने सरकारी मानिस नै थिए, राजनीतिक दलका थिएनन् । बोल्ने क्रममा धरैको अपेक्षा थियो त्यहाँ गिरिजाप्रसाद कोइराला सम्झिइन्छन् भनेर । तर वास्तविकता त्यस्तो देखा परेन । सबैले आफ्नै बखान मात्र गरे । माधव नेपालले पनि आफ्नो मात्र बखान गरे । मानौँ कि शान्ति प्रक्रिया आफुले गर्दा मात्र सफल र सम्पन्न भएको हो भन्नेमात्र दृष्टान्त पेश गरे उनले । दश वर्षे सशस्त्र द्धन्द्धबाट शान्ति प्रक्रियामा ल्याउने नायक थिए गिरिजाप्रसाद कोइराला जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जगजाहेर नै छ । तर त्यही शान्ति प्रक्रियाको एक महत्वपूर्ण पाटोका रुपमा रहेको क्यान्टोनमेन्ट नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रममा त्यसैका नायक सम्झिइएनन् । 

सरकारका कुनै पनि मानिसले नसम्झिएपछि काँग्रेस सभापति सुशिल कोइरालाले त्यो कार्यक्रम सकिएलगत्तै आपत्ती जनाए । उनले भनेका थिए ‘जसले शान्ति प्रक्रियालाई यहाँसम्म ल्यायो आज उ छैन भन्दैमा नामै नलिने ? यो काम घोर अन्याय भयो ।’ त्यसको पर्सिपल्ट सिंहदरबारमा बस्यो सेना समायोजन उच्चस्तरीय समितिको बैठक र त्यहाँ पनि सो समितिका सदस्य डा।रामशरण महतले यसै कुरामा आपत्ती जनाए । प्रधानमन्त्री माधव नेपालले त्यस कुरामा माफी मागेका थिए भनियो तर सार्वजनिक रुपमा भने केही भनेनन् । प्रसंग हिजोको संविधान दिवसको हो । हिजो राजकीय रुपमा मनाइएको संविधान दिवसमा पनि त्यो संविधान जारी गर्ने पूर्व प्रधानमन्त्री सुशिल कोइरालालाई कसैले सम्झिएन । न राजामहाराजाहरुको जस्तै सवारीसहित सैनिक मञ्चमा राष्ट्रपति पुगेर आयोजना गरिएको राजकीय कार्यक्रममा सुशिलको नाम कसैले उच्चारण गरे र नत आफ्नै पार्टीमा । सुशिल कोइराला त्यस समयमा प्रधानमन्त्रीको हैसियतमा रहेर संविधान जारी गर्ने औपचारिक काम गरेका हुन् भन्दा पनि उनीमाथि ठूलो अन्याय हुन्छ ।

किनभने यो संविधान लेखन र जारी गर्ने काममा उनले धेरै ठूलो ठक्कर र टक्कर व्यहोर्नुपरेको सबैमा जगजाहेर नै छ । वास्ताविकता यस्तो थियो कि उनी नभएर अरु कोही भएको भए त्यसबेला संविधान नै जारी हुदैनथ्यो । यो वास्तविकता सबैलाई थाहै थियो तर भन्न चाहेनन् । यसले नेपालमा आफूमात्र हुँ भन्ने वर्तमान सरकारको चरित्र पनि देखाएको छ । संविधान जारी गर्ने काम एक हप्तामात्र रोक्न भारतले विशेष दूत नै पठाएर गरेको आग्रह सबैलाई थाहै छ । यसमा तत्कालीन राष्ट्रपतिले राखेका केही असन्तुष्टिहरु त अहिले पनि बेला बेलामा आउने नै गरेका छन् । उनकै पार्टी नेपाली काँग्रेसका पनि कतिपय नेताहरु सबैको सहमति र अन्तर्राष्ट्रिय समर्थन पनि जुटाऔँ, एक दुई हप्ता रोक्दैमा केही आकास खस्दैन भनिरहेका थिए । तर पनि मुलुकका कार्यकारी प्रमुखका रुपमा सुशिल कोइरालाले कसैको कुरा सुनेनन् । एक दुरदर्शी राजनीतिज्ञका रुपमा उनले यतिमात्र भन्ने गर्दथे– अहिले तत्कालै जारी भएन भने यो स्वरुपको संविधान नै नेपालमा आउँदैन । उनको यो अडानमा वर्तमान प्रधानमन्त्री केपी ओलीको साथ रहेको जानकारी भने त्यस बेला पनि बाहिर आएको थियो । हुन पनि पछिको परिस्थिति त्यस्तै देखियो किनभने यस्तो जनपक्षीय, गणतान्त्रिक र समावेशी संविधान जारी भएपछिका असन्तुष्टिहरुले उनको भविश्यवाणी ठ्याक्कै मेल खान्थ्यो । 

कुनै पनि भवन या भौतिक संरचनालाई बाहिरबाट हेर्दा देखिएको सुन्दरताले त्यसको सबै पक्ष र पृष्ठभूमि बोल्दैन । कुनै सुन्दर संरचना ठडिनका लागि त्यसका पछाडि पृष्ठभूमि हुन्छ र त्यसको जिम्मेबारी र जगमा कसै न कसैले कुनै न कुनै योगदान पुर्याएको हुन्छ । अथवा त्यो भवनको जगको ढुंगा (शिलान्याशको शिला) को धेरै ठूलो महत्व हुन्छ । जगको ढुंगाले नै त्यस भवनको पूरै भार बहन गरेको हुन्छ, सिंगो भवनलाई थेगेको हुन्छ । हो, वर्तमान संविधानको जगको ढुंगा सुशिल कोइराला नै हुन् । उनले त्यसताका जनताका प्रतिनिधि रहेको संविधान सभाले लेखेकै स्वरुपमा यो संविधान जारी गराउन त्यस समय बहन गरेको भारको अनुमान र आंकलन अहिले यहाँ गर्न सकिँदैन । त्यो राष्ट्रिय र अन्तर्राष्ट्रिय दवाबका बाबजुत पनि उनले एकमात्र उद्देश्य राखे– दुइ÷दुई पटक देशमा संविधान सभाको निर्वाचन भयो, अब यसको पनि म्याद सकियो र संविधान तयार भएन भने हामी असफल हुन्छौँ, हाम्रो समग्र राज्य प्रणाली नै असफल हुन्छ, त्यसैले जनपक्षीय संविधान जारी गर्नुको अर्को विकल्प छैन ।      

नेपालको वर्तमान संविधानलाई विश्वमा नै एक समावेशिताको उत्कृष्ट नमूनाका रुपमा लिइन्छ, हेरिन्छ । यस्तो ऐतिहासिक दस्ताबेज देशबासीलाई छोडेर जाने सादगी नेताको स्मरण मात्रले पनि धेरैको कद बढाउँथ्यो, कसैको घटाउँदैनथ्यो । यस कुराको हेक्का न हिजोको राजकीय सभामा भयो र नत अन्त कतै । नेपालमा दुई वटा जनपक्षीय संविधान आए विसं २०४७ र विसं २०७३ मा र ती दुवै संविधान काँग्रेसकै सरकारले गर्यो ।

काँग्रेसका पनि दुई पटक नै सन्त र सादगी नेता थिए संविधान जारी गर्नेमा । विसं २०४७  को संविधान कृष्णप्रसाद भट्टराईको पहलमा र उनकै सरकारले जारी गर्यो । त्यस समयको दरबारलाई संविधन मुनि ल्याउन उनले कति पापड बेले होला्न भन्ने अनुमान त अहिलेको पुस्ताले गर्नै सक्दैन । भट्टराईको राजनीतिक तथा व्यक्तिगत जीवनको ‘सिम्पिसिटी’को बारेमा सबै नेपाली जानकार नै छन्, यहाँ केही भनिरहनु पर्दैन । त्यस्तै व्यक्तित्व हुन् वर्तमान संविधान जारी गर्ने सुशिल कोइराला पनि । उनको सरलता र त्यागकै कारणले यो संविधान जारी हुन सम्भव भएको हो जुन तथ्य नेपालको इतिहासमा सदा जिवीतै रहन्छ । तर आज त्यही जगमा उभिएको सरकारले उनलाइ यतिछिट्टै विर्सिएको छ । उनको सत्प्रयासबाट जारी भएको संविधानको जगमा उभिएर संविधान दिवस मनाइरहँदा यस कुराको हेक्का नगर्नु पनि बेइमानी नै हो ।