१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

विना मापदण्ड धमाधम नियुक्ति ! त्रिविलाई लालकिल्ला बनाउने तयारी



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा मापदण्ड नबनाई पदाधिकारीले आफूअनुकूल व्यक्तिलाई धमाधम नियुक्ति दिएका छन् । नियुक्तिका लागि कार्यसम्पादन, वरिष्ठता या दुवै पक्षमध्ये कुनलाई आधार बनाउने भन्ने मापदण्ड बनाइएको छैन । नेकपानिकट शिक्षकलाई नियुक्ति दिन जुन अस्त्र सहज हुन्छ, त्यही प्रयोग गरिरहेका छन् त्रिवि पदाधिकारीले ।

विश्वविद्यालयका संकाय र अध्ययन संस्थानका डिन, सहायक डिन, केन्द्रीय विभाग प्रमुख, क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुखलगायत पदमा अरू पार्टीको बलियो दाबेदारी देखिँदैन । तथापि, नेकपाभित्र पनि पूर्वएमाले र पूर्वमाओवादीबीच भागबण्डाका लागि वरिष्ठता र कार्यसम्पादन दुवै मापदण्ड अनुसरण भएको पाइँदैन । कुनै दल सत्तामा आएपछि विश्वविद्यालयमा सोही दलको हालीमुहाली हुने रोग नयाँ होइन । विगतमा कांग्रेसको एकमना सरकार हुँदा होस् या ०६२÷६३ को परिवर्तनपछिको भागबण्डाको राजनीति, विश्वविद्यालय पदाधिकारीदेखि संकाय र विभाग प्रमुखहरू राजनीतिक आस्थाका आधारमा नियुक्त हुने गरेका थिए । त्यही रोगले अहिले पनि निरन्तरता पाएको छ ।

अहिले केन्द्रीय विभाग प्रमुखको नियुक्तिमा वरिष्ठता, प्राज्ञिक क्षमता, कार्यसम्पादनजस्ता मापदण्डमा एकरूपता छैन । कांग्रेसनिकटलाई हटाउनका लागि वरिष्ठताको नाम दिँदै नेकपानिकट व्यक्तिलाई नियुक्ति दिइएको छ । राजनीतिमा सक्रिय नहुने, तर केन्द्रीय विभागमा छोटो समयमा राम्रो कार्यसम्पादन गरेका कांग्रेसनिकटलाई पनि हटाएर नेकपानिकटलाई नियुक्ति दिइएको छ ।

त्रिवि कार्यकारी परिषद्ले शिक्षा विकास तथा अध्ययन केन्द्र (सेरिड) मा प्राध्यापकहरू हुँदाहुँदै सहप्राध्यापक सुरेन्द्र गिरीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय ग¥यो । गिरी नेकपानिकट भएकाले प्राध्यापकहरूलाई नै उपेक्षा गरिएको छ । 

त्यति मात्र होइन, कुनै निकायमा त पूरा कार्यकाल काम गर्न नसक्ने बताउँदै वरिष्ठलाई पाखा लगाइएको छ । र, कनिष्ठलाई जिम्मेवारी दिइएको छ । जस्तो– चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठ प्राध्यापक हुँदाहुँदै प्रा।डा। दिव्यासिंह शाहलाई डिन बनाइयो । डा। शाह यसअघि प्रधानमन्त्री केपी ओलीकी निजी चिकित्सक पनि थिइन् ।

यी उदाहरणले त्रिविका पदाधिकारीले मातहतका निकायमा नियुक्तिका लागि अपनाएको भद्रगोल शैली प्रस्ट्याउँछन् । नेकपानिकट र आफूअनुकूल व्यक्तिलाई नियुक्ति दिन सकिने ठाउँमा वरिष्ठताको तर्क गर्ने र त्यस्तो सम्भावना नरहेका ठाउँमा वरिष्ठता ठूलो विषय नभएको बताउने प्रवृत्ति देखिएको नेकपानिकटकै एक प्राध्यापक बताउँछन् । ‘कसैलाई अप्ठ्यारो पार्न वरिष्ठताको कुरा गर्ने र आफूअनुकूल नहुने भए चुपचाप निर्णय गर्ने प्रवृत्ति छ,’ ती प्राध्यापक भन्छन्, ‘केन्द्रीय विभागमै मनलाग्दी छ, बाहिरका नियुक्ति त झनै लाजमर्दो छन् ।’ उनका अनुसार कांग्रेसनिकट व्यक्ति प्रमुख रहेको ठाउँमा जुनसुकै निहुँमा पनि अर्को व्यक्तिलाई नियुक्ति दिइएको छ । तर, नेकपा र आफूनिकट भएकै कारण कनिष्ट व्यक्ति प्रमुख रहेका केन्द्रीय विभागको नेतृत्व परिवर्तन गरिएको छैन ।

लालकिल्ला बन्दै मानविकीका केन्द्रीय विभाग

उपकुलपति प्रा।डा। धर्मकान्त बाँस्कोटा नेतृत्वमा त्रिविमा नयाँ टिम आएयता मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत कीर्तिपुर परिसरमा रहेका केन्द्रीय विभागहरू लालकिल्लाजस्तै बनेका छन्। उक्त संकायअन्तर्गतका विभागमा कांग्रेसनिकट कमै व्यक्तिले नियुक्ति पाएका छन् । नेकपानिकट शिक्षक नभएका र विद्यार्थी संख्या थोरै रहेका विभागमा मात्र कांग्रेसनिकट प्राध्यापकले नेतृत्व गर्न पाएका छन् ।

तर, विद्यार्थीको आकर्षण रहेका केन्द्रीय विभागहरू नेकपानिकट व्यक्तिका नियुक्तिले भरिन थालेका छन् । उपकुलपतिमा बाँस्कोटाको नियुक्तिपछि समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी र भाषा विज्ञान केन्द्रीय विभागमा प्रमुख नियुक्त भए । भाषा विज्ञानबाहेकका सबै प्रमुख नेकपानिकट हुन् । समाजशास्त्रमा डा। युवराज लुइँटेल, अर्थशास्त्रमा प्रा।डा। सोहनलाल कर्ण, अंग्रेजीमा प्रा।डा। जीवलाल सापकोटा नियुक्त भए । तीनैजना नेकपानिकट हुन् । भाषा विज्ञानमा पनि दानराज रेग्मी वरिष्ठ हुँदा हुँदै कनिष्ठ डा। बलराम प्रसाईंलाई विभागीय प्रमुख बनाइएको छ ।

मानवशास्त्र केन्द्रीय विभागमा भने यसअघिका पदाधिकारीले अर्को व्यवस्था नहुन्जेलका लागि प्रमुखको जिम्मेवारी दिएका कनिष्ठले नै निरन्तरता पाएका छन् । विभागमा प्राध्यापकहरू भए पनि विवाद भएको र त्यसको टुंगो नलागेका कारण डा। डम्बर चेम्जोङ मानवशास्त्र विभाग प्रमुख छन् । शिक्षाशास्त्र संकायतर्फ नेपाली विभाग प्रमुखलगायतमा पनि विवाद छ ।

तत्कालीन त्रिवि उपकुलपति प्रा।डा। तीर्थ खनियाको टिमले भागबण्डाका आधारमा नियुक्त गरेका कांग्रेसनिकट शिक्षक विभागीय प्रमुखबाट हट्दै गएका छन् । उनीहरूलाई नेकपानिकट शिक्षकले विस्थापित गरिरहेका छन् ।

पछिल्ला नियुक्तिमा मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत कीर्तिपुरपरिसरमा रहेका १६ केन्द्रीय विभागमध्ये १२ नेकपानिकट र दुई कांग्रेसनिकट शिक्षकको नेतृत्वमा छन् । अन्य दुईवटा विभाग प्रमुखमा पार्टीगत रूपमा नखुलेका व्यक्ति छन्् । उनीहरू वैचारिक रूपमा कम्युनिस्ट वा कांग्रेसनिकट देखिए पनि दलका झन्डा नबोक्ने र प्राज्ञिक क्षमता उच्च भएका व्यक्ति हुन् ।

विद्यार्थी आकर्षण भएका केन्द्रीय विभागमा नेकपानिकट नेतृत्व

त्रिविका समाजशास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली केन्द्रीय विभागमा विद्यार्थीको सबैभन्दा बढी आकर्षण छ । अर्थशास्त्र केन्द्रीय विभागमा अवकाश पाउन तीन महिना मात्र बाँकी रहेका प्रा।डा। सोहनलाल कर्णलाई वरिष्ठताको नाम दिएर प्रमुख बनाइएको छ । जबकि, कर्णसँगै प्राध्यापक बनेका रामप्रसाद ज्ञवालीले अवकाश पाउन सात वर्ष बाँकी छ । सेवा प्रवेशको हिसाबमा कर्णलाई वरिष्ठ देखाएर कांग्रेसनिकट भएकै कारण ज्ञवालीलाई पाखा लगाइयो । जब कि, ज्ञवाली पनि कर्णसँगै प्राध्यापक बनेका हुन् । कर्ण नेकपा सांसदका श्रीमान् पनि हुन् ।

अंग्रेजी विभाग प्रमुख प्रा।डा। जीवलाल सापकोटा पनि वरिष्ठ होइनन् । अंग्रेजी विभागमा सबैभन्दा वरिष्ठ प्रा.डा. अनिरुद्र थापाले विभाग प्रमुख नहुँदा निमित्तको जिम्मेवारी पाउने गरेका थिए, तर उनले कहिल्यै पूर्ण विभागीय प्रमुख बन्न पाएनन् । र, त्रिविको राजनीतिबाट दिक्क भएर प्रा.डा. थापाले राजीनामा दिए । उनले अवकाश पाउन नौ वर्ष बाँकी थियो ।

विद्यार्थी भड्काउने शिक्षक समाजशास्त्र विभागमा प्रमुख

त्रिविमा सबैभन्दा बढी विद्यार्थी आकर्षण समाजशास्त्र केन्द्रीय विभागमा देखिन्छ, जसमा १३ महिनामा राम्रो कार्यसम्पादन गरेका सहप्राध्यापक डा। टीकाराम गौतमलाई हटाएर अर्का सहप्राध्यापक डा। युवराज लुइँटेललाई प्रमुख बनाइएको छ । सेवा प्रवेशमा लुइँटेल वरिष्ठ भए पनि प्राज्ञिक र संयोजनमा गौतमको कार्यसम्पादन राम्रो देखिएको थियो ।

लुइँटेलविरुद्ध अनियमिततालगायत आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उक्त मुद्दामा सफाइ पाएकाले विभागीय प्रमुख बनाउन दबाब दिँदै नेकपाका नेताहरूबाट लुइँटेलले दैनिक ९÷१० कल फोन गराएर हैरान बनाउन थालेपछि गौतमलाई हटाएर उनलाई नियुक्ति दिइएको त्रिविका एक पदाधिकारी बताउँछन् ।

समाजशास्त्रका डा। गौतम र मानवशास्त्र केन्द्रीय विभाग प्रमुख डा। चेम्जोङको सक्रियता र संयोजनमा दुवै विभागमा व्यापक सुधार देखिएको थियो । समाजशास्त्र केन्द्रीय विभागले प्राज्ञिकलगायत सबै सर्त पूरा गरेर विश्वविद्यालयमार्फत ‘क्वालिटी एस्योरेन्स एन्ड एक्रिडिटेसन’ ९क्युएए०मा अन्तिम हस्ताक्षर हुन लाग्दा आस्थाकै कारण प्रमुख डा. गौतमले हट्नुपरेको छ ।

नवनियुक्त विभाग प्रमुख डा। लुइँटेलविरुद्ध त्रिवि रजिस्ट्रार कार्यालयमा समेत उजुरी छ । उत्तरपुस्तिका लापरबाहीपूर्वक परीक्षण गर्ने र त्यसको दोष विभागीय प्रमुख र सम्परीक्षकलाई दिएर विद्यार्थी भड्काउने गरेको आरोप उनलाई लागेको छ । दुई वर्षअघि स्नातकोत्तर समाजशास्त्रको ‘सोसल चेन्ज एन्ड डेभलपमेन्ट’ विषयमा विद्यार्थीको अंक कम आएपछि तत्कालीन विभागीय प्रमुख र सम्परीक्षकले अंक घटाएको बताउँदै लुइँटेलले विद्यार्थीलाई भड्काएपछि ठूलै विवाद भएको थियो । अंक कम आएको बताउँदै विद्यार्थीहरूले विभागमा लिखित निवेदन दिएका थिए ।

त्यसपछि विभागमा जसले गल्ती गरेको छ, उसैलाई कारबाही गर्ने सहमति भएको थियो । छानबिनका लागि विभागले डिन कार्यालयलाई अनुरोध ग¥यो । डिन कार्यालयका एक अधिकारीका अनुसार अंक कम आएको भनिएका विद्यार्थीको उत्तरपुस्तिका हेर्दा युवराज लुइँटेल र अर्का एक शिक्षकले उत्तरपुस्तिका जाँचेको र उनीहरूले दिएको अंकमा तलमाथि नभएको पाइएपछि दुवैजना त्यहाँबाट भागेका थिए । हालका रेक्टर प्रा।डा। शिवलाल भुसाल त्यति बेला मानविकी संकाय डिन थिए । त्यसैले डा। भुसाललाई उक्त प्रकरणबारे स्पष्ट जानकारी छ ।

त्रिभुवन विश्वविद्यालयमा नयाँ नियुक्ति

पूर्वएमालेनिकट

– मेची क्याम्पस, झापा प्रमुख– सहप्राध्यापक जीवन पोखरेल

– रारा बहुमुखी क्याम्पस जनकपुर प्रमुख– सहप्राध्यापक प्रदीपकुमार साह

– ठाकुरराम बहुमुखी क्याम्पस प्रमुख– सहप्राध्यापक राजदेव कुशवाहा

– पृथ्वीनारायण क्याम्पस प्रमुख– प्राध्यापक सरोज कोइराला

– बुटवल बहुमुखी क्याम्पस प्रमुख– सहप्राध्यापक खिमानन्द भण्डारी

– नर्सिङ क्याम्पस नेपालगन्ज प्रमुख– उपप्राध्यापक तुलसा सुनुवार

– सुर्खेत क्याम्पस प्रमुख– उपप्राध्यापक माधवप्रसाद खनाल

– पाटन संयुक्त क्याम्पस प्रमुख– सहप्राध्यापक लक्ष्मण कुँवर

– रत्नराज्यलक्ष्मी क्याम्पस प्रमुख– सहप्राध्यापक जीवनधर ज्ञवाली

– विश्वभाषा क्याम्पस प्रमुख– सहप्राध्यापक यादवप्रसाद पन्त

– डिन, इन्जिनियरिङ अध्ययन संस्थान– प्राध्यापक शशिधरराम जोशी

– डिन, चिकित्साशास्त्र अध्ययन संस्थान– प्रा।डा। दिव्यासिंह शाह

– अंग्रेजÞी केन्द्रीय विभाग प्रमुख– प्रा।डा। जीवलाल सापकोटा

– सहायक परीक्षा नियन्त्रक, अत्तरिया शाखा– सहप्राध्यापक ईश्वरीदत्त पन्त

– सहायक परीक्षा नियन्त्रक, नेपालगन्ज शाखा– उपप्राध्यापक सुमन गौतम

– सहायक परीक्षा नियन्त्रक, केन्द्रीय कार्यालय– सहप्राध्यापक घनश्याम ठाकुर

– सहायक परीक्षा नियन्त्रक, विराटनगर शाखा– उपप्राध्यापक नन्दकुमार न्यौपाने

– समाजशास्त्र केन्द्रीय विभाग प्रमुख– युवराज लुइँटेल

– अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख– प्रा। सोहनलाल कर्ण

पूर्वमाओवादीनिकट

– सिराहा क्याम्पस प्रमुख– सहप्राध्यापक रामहित यादव

– गोरखा क्याम्पस प्रमुख– उपप्राध्यापक रामशरण बानियाँ

– तेह्रथुम क्याम्पस प्रमुख– उपप्राध्यापक निलम खरेल

– महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज प्रमुख– सहप्राध्यापक लालमणि आचार्य

– जुम्ला क्याम्पस प्रमुख– उपप्राध्यापक ओमप्रकाश आचार्य

– डिन, शिक्षाशास्त्र संकाय– प्राध्यपाक चित्रबहादुर बुढाथोकी

– निर्देशक, शिक्षा विकास तथा अध्ययन केन्द्र, सहप्राध्यापक सुरेन्द्र गिरी

– सहायक डिन, इन्जिनियरिङ अध्ययन संस्थान, प्रा चिन्तामणि पोखरेल

– सहायक डिन, कृषि तथा पशुविज्ञान अध्ययन संस्थान– सहप्राध्यापक किशोरचन्द्र दाहाल

– सहायक डिन, व्यवस्थापन संकाय– सहप्राध्यापक हरि अधिकारी

–  कन्फ्युसियस इस्न्टिच्युट निर्देशक– प्राध्यापक बालमुकुन्द रेग्मी

– सहायक परीक्षा नियन्त्रक, पोखरा शाखा– सहप्राध्यापक मीना गुरुङ

– सहायक डिन, मानविकी तथा सामाजिकशास्त्र संकाय– प्राध्यापक दुविनन्दन ढकाल

कांग्रेसनिकट

– त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा प्रमुख– सहप्राध्यापक टंकप्रसाद भट्टराई

– डोटी क्याम्पस प्रमुख– सहप्राध्यापक दयानन्द जोशी

– वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर प्रमुख– प्राध्यापक दयाराम पौडेल

– त्रिचन्द्र क्याम्पस प्रमुख– प्राध्यापक सुनील अधिकारी

– शंकरदेव क्याम्पस प्रमुख– प्राध्यापक केशवराज जोशी

– चितवन इन्जिनियरिङ क्याम्पस प्रमुख, उपप्राध्यापक सुदीप पौड्याल

– डिन, मानविकी तथा सामाजिकशास्त्र संकाय– प्राध्यापक कुशुम शाक्य

– जनप्रशासन केन्द्रीय विभाग प्रमुख– प्राध्यापक यशोदा काफ्ले

– भाषाविज्ञान केन्द्रीय विभाग प्रमुख– प्रा.डा. बलराम प्रसाईं

पुराना नियुक्तिका कांग्रेसनिकट बाँकी

यसअघिका पदाधिकारीले नियुक्त गरेका र कार्यकाल बाँकी रहेका विभागीय प्रमुखहरू कांग्रेसनिकट छन्् । मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत संस्कृत केन्द्रीय विभाग प्रमुख नारायण गौतम कांग्रेसनिकट हुन् । उनको नियुक्ति तत्कालीन उपकुलपति खनियाको पालामा भएको हो । संस्कृत विभागमा नेकपानिकट शिक्षकको अभाव पनि छ ।

यस्तै, हरेक सेमेस्टरमा एकदमै न्यून विद्यार्थी भर्ना हुने भाषाविज्ञानमा कांग्रेसनिकट विचारका डा। बलराम प्रसाईंलाई प्रमुख बनाइएको छ । कार्यकाल बाँकी रहेका साइन्सलगायत केन्द्रीय विभागमा भने पहिलेको भागबन्डाअनुसार नियुक्त भएकाले कांग्रेसनिकट शिक्षक प्रमुख छन्् । जनसंख्या अध्ययन केन्द्रीय विभाग प्रमुखको पद रिक्त छ ।

विसंगति थुप्रिएको ठाउँमा एकैपटक सबै सुधार सम्भव भएन – प्रा.डा. धर्मकान्त बाँस्कोटा, उपकुलपति, त्रिवि

वरिष्ठताका आधारमा डिनहरूको नियुक्ति गरेका छौँ । त्यसका लागि चारवर्षे कार्यकाल पूरा काम गर्न सक्ने व्यक्ति छनोट गरेका छौँ । महिलालगायत सबै पक्ष मिलाउँदा पनि वरिष्ठताबाटै ल्याएका छौँ । खाली भएका केन्द्रीय विभाग प्रमुखहरू वरिष्ठताकै आधारमा नियुक्त गरिएको छ । कतै वरिष्ठको चाहना नभएका कारण त्यसपछिका व्यक्तिलाई नियुक्त गरिएको हो । क्याम्पसहरूमा पनि सकेसम्म प्राध्यापक र नभएमा सहप्राध्यापकलाई प्रमुख बनाएका छौँ । सेरिडमा पहिलेका नियुक्तिमा नमिलेकाले त्यसलाई न्याय गर्ने काम मात्र गरेका हौँ । अब रिसर्च सेन्टरमा पनि वरिष्ठतालाई मिलाउँछौँ । हामीले लिखित मापदण्ड तयार गरेका छौँ, तर पारित भएको छैन । यसलाई पारित गरेर पारदर्शी ढंगले नियुक्त गर्छौँ । अहिले पनि मापदण्डअनुसार नियुक्त गर्ने प्रयास गरेका छौँ, तर शतप्रतिशत सफल भएका छैनौँ । विसंगतिको थुप्रो भएका ठाउँमा एकैपटक सबै सुधार सम्भव रहेनछ ।

आफूअनुकुल व्यक्ति नियुक्त गर्दा नेतालाई ठेक्कापट्टामा लाभ – केदारभक्त माथेमा, पूर्वउपकुलपति, त्रिवि

जुन पार्टीको सरकार आयो, त्रिविमा सोही दलनिकटका पदाधिकारी नियुक्त हुने र तल्ला तहमा पदाधिकारीले पनि पार्टी र आफूनिकट व्यक्ति किन नियुक्त गर्छन् ?

म त्रिवि उपकुलपति हुँदा तल्ला तहमा पार्टीनिकटलाई नियुक्त गरिनँ । तर, पार्टीका ठूला र साना नेताको दबाबमा योग्यभन्दा पनि यस्ता नियुक्ति हुन्छन् भन्ने लाग्छ । आफूले भनेका व्यक्ति नियुक्त गर्दा नेताहरूलाई ठेक्कापट्टालगायतमा पनि फाइदा हुन्छ । अहिले दुई तिहाइको सरकार छ, भागबण्डा अन्त्य हुन्छ र योग्य व्यक्तिले नियुक्ति पाउँछन् भन्ने आशा थियो । तर, अहिले त पार्टीभित्र पनि भागबण्डा भयो । योग्य व्यक्ति आएनन् भने संस्थालाई नै घाटा हुन्छ ।

यस्ता नियुक्तिले शैक्षिक गुणस्तरमा के प्रभाव पार्छ ?

नेतृत्व राम्रो नभएमा शैक्षिक संस्था नै काम नलाग्ने हुन्छ । गुणस्तरका लागि जति चिन्तनमनन हुनुपर्ने हो, त्यो हुँदैन । र, समग्रमा गुुणस्तरमा असर पर्छ । त्यसरी नियुक्त भएका व्यक्ति संस्थाप्रति भन्दा नियुक्ति गर्नेप्रति बफादार हुन्छन् । नेतृत्व गर्ने व्यक्ति वरिष्ठ भएर मात्र हुँदैन, प्रशासनिक क्षमतायुक्त र योग्य पनि हुनुपर्छ । राम्रो प्राज्ञ हुँदैमा प्रशासनिक क्षमता नहुन सक्छ । त्यसैले सबै पक्ष हेरेर जिम्मेवारी दिनुपर्छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।