१८ असार २०८३, बिहीबार
,
Latest
असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीको उधुम, जताततै जलमग्न



अ+ अ-

महोत्तरी । महोत्तरीसहितका मध्यपूर्वी तराईमा लगातारको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ । असार मध्यदेखि लगातार पानी पर्दै आए पनि पछिल्लोपटक गत बुधबारयता मुसलधारे वर्षाले महोत्तरीका नदीमा बाढी उर्लेसँगै जताततै जलाम्य बनाएपछि जनजीवन अस्तव्यस्त बनेको हो ।

महोत्तरीका रातु, बडहरि, अङ्कुशी, मरहा, जङ्घा, भब्सी र बाँकेलगायतका नदीमा उर्लेको बाढीले कटान र डुबान बढाउँदै लगेको छ । पछिल्ला चार दिनयता बाढीको पानी गाउँ नगर बस्तीमा पसेपछि जताततै जलाम्य बनेको हो । पानी नरोकिए बाढी बढ्दै जाँदा जिल्लाका मुख्य सडकहरु जलेश्वर–मटिहानी, जलेश्वर–बर्दिवास, सम्सी–रामगोपालपुर–लोहारपट्टी–जनकपुर र जलेश्वर–रौजा–बर्दिवासमा यातायात चल्ने अवस्था छैन । लकडाउनमा यात्रुवाहक सवारी साधन ठप्प भए पनि साना सवारी साधन (जिप, मोटरसाइकल र साइकलसहित) चल्दै आएका यी सडकमा अब पैदल हिँड्न पनि नसकिने अवस्था छ ।
 

जिल्लाका नदीहरूमा जलस्तर बढेसँगै कतिपय स्थानमा नदीको तटबन्ध कटान  शुरु भएको छ । जिल्लाका उत्तरी क्षेत्रमा कटान र मध्य एवं दक्षिणी क्षेत्रमा डुबानले प्रभावित बनाएको जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुरेशप्रसाद सिंहले बताए । जिल्लाका ४० भन्दा बढी बस्ती बाढीको उच्च जोखिममा रहेका सिंहको भनाइ छ । पछिल्लोपटक यसपालि मध्यअसारसँगै पानी पर्दा समयमै धान रोप्न पाएको खुशी पनि यहाँका किसानमा धेरै टिक्न पाएन । खेतका गह्रागह्रा भत्काउँदै पानीको रेला (तीव्रगतिको बगाइ) चलेर रोपो बग्दै गएपछि किसानको खुशी खोसिएको हो । भर्खरैको रोपो बगाएको र अलि पहिलेको रोपो सरेको भए पनि अब डुबानले पहेँलिने चिन्ताले किसान विरक्तिएका छन् ।
 
यसैबीच जिल्ला प्रशासन कार्यालय महोत्तरीले नदीहरूमा जलस्तर बढ्दै गएपछि तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित ठाउँमा सार्ने काम अघि बढाएको छ । तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाकर्मी परिचालित गरी सुरक्षित ठाउँमा सार्ने र सबैलाई आइपर्ने विपद्बारे सचेत बनाउने काम भइरहेको  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । लोहारपट्टी, बलवा र जलेश्वर नगरपालिका क्षेत्रका केही बस्ती बढी जोखिममा रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गरिएको कटुवालको भनाइ छ ।

गत वर्षको बाढीले पनि यी तीन नगरपालिका क्षेत्रमा निकै क्षति गरेको थियो । गत वर्ष बाढीको चपेटामा परी आठ जनाको ज्यान गएको थियो भने २० हजारभन्दा बढी विस्थापित भएका थिए । नदी नियन्त्रण र वैज्ञानिक व्यवस्थापनको काम प्रभावकारी नहुँदा बर्सेनि तटबन्धका नाममा करोडौँ रकम स्वाहा हुने गरेको र जनता भने सधैँ त्राहिमामकै अवस्थामा रहेको बलवा नगरपालिकाको भगवतीपुर बस्तीका उत्तिम माझीले गुनासो गरे ।