काठमाडौं । सगरमाथा आरोहण गर्न तम्सिएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाशको यात्रा यस पटक बीचमै रोकिएको छ ।
मौसम प्रतिकूल भएपछि शर्माले आरोहण स्थगित गरेका हुन् । उनी सगरमाथाको क्याम्प थ्री नजिकबाट फर्किएका हुन् ।
महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत् यस पटकको आफ्नो सगरमाथा आरोहण यतिमै स्थगित गरिएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
यसपालिको उपलब्धि मंसिर २८ मा आरोहण गरेको लोबुचे हिमाल ( ६१४५ मिटर ) भन्दा माथी, सगरमाथा Camp 3 (७२०० मिटर) नजिक l
`सेमिफाइनल´ सगरमाथा बेसक्याम्प´सम्म, भनिराखेर हिंडेको मान्छे
`ट्रेनिङ´ ले उर्जा दिएपछि, काठमाडौ सम्पर्क गरेर अनुमति पत्र मगाएर , `खुम्बु आइसफल´ पार गर्दै, camp 1 र 2 मा बासबस्दै Camp 3 नजीकबाट फिर्ता l यु-ट्युबमा हेरे भन्दा धेरै जोखिमपूर्ण रहेछ खुम्बु आइसफल l
खराब मौसमले फर्किएका मध्ये संभवत भोलि 27 र 28 May दुइ मध्ये
एकदिन आदरणीय कामिरिता शेर्पा र भारतीय सैनिक टिमले आरोहण गर्नेछन् l May 24 लाई निर्धारित हाम्रो आरोहणलाई मौसमले धकेलेर May 29 मा पुर्यायो l आज सोमबारको रात हामी पुन खुम्बु आइसफलको बाटो हिँड्नु थियो, तर बिहानै मौसमको ताजा विवरण दिँदै मित्र दावा शेर्पाले भन्नुभयो- May 29 को अन्तिम दिन मौसम झनै खराव देखायो l 29 May पछि आरोहण गर्न पाइन्न, त्यसकारण यसपालि यत्तिमै बिट मारौं होला !
बैशाख २७ मा बेसक्याम्प पुगेर, छोटो समय ट्रेनिङ लिएर, एउटा निश्चित उचाईसम्मको अनुभव प्राप्त गर्न पाउँदा सन्तोष व्यक्त गर्दै तपाईं सबैको शुभेच्छाप्रती हृदयले आभार व्यक्त गर्दछु l सगरमाथा त्यहीँ छँदैछ, म यहीँ छँदैछु, तपाईंको शुभेच्छा पाउनेछु नै, अनि समय फेरि आउनेछ नै !













