२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनमा गर्मीको असरः ‘हिट स्ट्रोक’बाट बिरामी पर्न थाले



अ+ अ-

चितवन। जिल्लामा पछिल्लो केही दिनदेखि लगातार गर्मी बढ्दै गएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरका अनुसार आज चितवनमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस मापन गरिएको छ भने अघिल्लो दिन यो तापक्रम ३९ डिग्री पुगेको थियो ।

गर्मी बढेपछि जनजीवनमा प्रत्यक्ष असर पर्न थालेको छ । गर्मीका कारण यहाँका कतिपय स्थानीय निकायले विद्यालय बन्द गरेका छन् । दिउँसो सडक र बजार सुनसान देखिन थालेका छन् । विशेषगरी वृद्ध, बालबालिका र बाहिर खटिने श्रमिकमा यसको असर बढी परेको छ ।

भरतपुर महानगरपालिका वडा १०स्थित चौविसकोठीको सडक छेउमा पचपन्न वर्षीया चन्द्रकुमारी पुनमगर मकै पोलेर बिक्री गर्ने काम गर्नुहुन्छ । उहाँ  भन्नुहुन्छ, “दिनभर घाम र आगोका बीचमा बस्नुपर्छ, शरीर नै सिथिल हुन्छ । ग्राहक नै छैनन्, अहिले रु ५० मा एक घोगा मकै पनि बेच्न गाह्रो भएको छ ।” सडक सुनसान भएकाले पैदलयात्री र ग्राहकको सङ्ख्या घटेको देखिन्छ ।

सोही स्थानमा भेटिएका अटो चालक खलबहादुर मगरको कुरा पनि यस्तै छ । उहाँ भन्नुहुन्छ, “रिक्साको छत र सडक दुवैको रापले काम गर्न मनै लाग्दैन । तर के गर्ने, घर चलाउनु नै छ । अहिले मान्छे हिँड्नै छाडे जस्तो छ ।”

त्रिचोकतर्फबाट पैदल आउँदै गरेका ४८ वर्षीय भगवान् शाहीले त गर्मीले थाकेर समयमै काममा पुग्न नसकेको गुनासो गर्नुहुन्छ । “गर्मीले हिँड्नै सकिएन । केही दिनदेखि समयमा काममा पुग्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अब त गर्मीमा हिँड्दा दुई जोर कपडा लिएर हिँड्नुपर्छ, पसिना भिजेपछि फेर्न ।”गर्मीका कारण स्वास्थ्यमा पनि असर देखिन थालेको छ । अस्पतालमा गर्मीसम्बन्धी समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको भरतपुर अस्पतालका फिजिसियन डा गोविन्द कँडेलले बताउनुभयो ।

उहाँका अनुसार अत्यधिक गर्मी र हावामा आद्रता धेरै हुँदा पसिना नआउने समस्या हुन्छ, जसले गर्दा शरीरको भित्री तापक्रम अत्यधिक बढ्छ । यस्तो अवस्था गम्भीर ‘हिट स्ट्रोक’मा परिणत हुन सक्छ । अहिले चितवनमा दुई जना व्यक्तिलाई हिट स्ट्रोक भएको पुष्टि भएको समेत उहाँले बताउनुभयो । तीमध्ये एक जना चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचारपछि निको भएर फर्किसकेका छन् ।

त्यसैगरी, गर्मीमा दम, छातीका रोगी र सङ्क्रमणजन्य रोग पनि सक्रिय हुनसक्ने उहाँले बताउनुभयो । अहिले झाडापखाला र बान्ताका बिरामी केही देखिए पनि मुख्य रूपमा टाइफाइड र ज्वरोका बिरामी बढी देखिन थालेका छन् ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले देशका केही पूर्वी भागमा वर्षा भइरहेको छ भने चितवनजस्ता स्थानमा हावामा पानीका कण धेरै भएकाले तापक्रम कम भए पनि आद्रताका कारण मानिसले बढी जस्तो महसुस गर्ने अवस्था हुन्छ । यसलाई प्राविधिक भाषामा ‘फिल लाइक टेम्परेचर’ भनिन्छ ।

फिजिसियन डा कँडेलले दिउँसोको समयमा अत्यधिक गर्मी हुँदा बाहिर काम नगर्न, सकेसम्म घरभित्र वा छायाँमा बस्न, नियमित पानी पिउनु र शरीरलाई हाइड्रेटेड राख्नु अत्यावश्यक भएको बताउनुहुन्छ । उहाँले लामो बाहुला भएको कपडा लगाउने र कीरा–सर्पबाट जोगिन मोजा तथा जुत्ता लगाउनुपर्ने सुझाव दिनुभएको छ ।

मौसमविद लामिछानेका अनुसार आज रातिबाट वर्षाको सम्भावना बढ्दै गएको छ । यसले तापक्रम केही घटाउने आशा गरिएको छ । तापक्रम अझै केही दिन उच्च नै रहने भएकाले स्थानीयवासीलाई विशेष सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् । रासस