२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुलाईको पलेँटीमा सङ्गीतकार न्ह्यू बज्राचार्य



अ+ अ-

काठमाडौँ । अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको आरशालामा आयोजना हुँदै आएको साङ्गीतिक कार्यक्रम- पलेंटीमा यस पटक प्रसिद्ध साङ्गीतकार न्ह्यू बज्राचार्य प्रस्तुत हुने भएका छन् । यही महिनाको अन्तिम शुक्रबार र शनिबार (२५ र २६ तारिख) आयोजना हुने कार्यक्रममा न्ह्यूलाई बानिका प्रधानको गायनले साथ दिनेछ ।

 यसपालीको कार्यक्रमलाई कवि तथा गीतकार विप्लव प्रतीकले संचालन गर्ने कुरा पलेँटी संयोजन गर्दै आएका सङ्गीतकार आभासले जानकारी गराएका छन् ।

 पलेँटी कार्यक्रम आजभन्दा २० वर्ष पहिले सुरु भएको साङ्गीतिक कार्यक्रम हो । जुलाई महिनाको कार्यक्रमका निम्ति सङ्गीतकार न्ह्यू बज्राचार्य र बानिका प्रधान पलेँटी टीमसँग अभ्यासमा धमाधम जुटिरहेका छन् ।

 न्ह्यू बज्राचार्य नेपाली साङ्गीतिक जगतका श्रोतादर्शक बीच स्थापित नाम हो । उनले धुन भरेका अनेकौं गीतहरूले लोकप्रियताको शिखर चुमेका छन् । खासगरी बज्राचार्यले धुन भरेका- फूलको आँखामा‘, ‘नआऊ सपनाभरि‘, ‘अरबौं मान्छेरुमा‘, ‘लैजा चरी‘, ‘सयथरि बाजा‘ लगायत अनेकौं गीतलाई नेपाली श्रोता जगतले अत्यधिक रुचाएका छन् ।

नेपाली गायनकी अग्रज स्वर-शिल्पी अरुणा लामाले गाएको यो मन त तलाउ होलाई पनि बज्राचार्यले धुन भरेका हुन् । बज्राचार्यसँग गायक बच्चु कैलाशका निम्ति सङ्गीत रचेको अनुभव समेत रहेको छ । 

यसपालीको पलेँटी बारे कार्यक्रम संयोजन गर्दै आएका सङ्गीतकार आभास भन्छन्- न्ह्यू बज्राचार्य नेपाली सङ्गीतमा लामो समयदेखि क्रियाशील सिद्धहस्त सङ्गीतकार हुन् । उनका सृजनाले नेपाली सङ्गीतमा भिन्दै स्वाद स्थापित गरेका छन् । लोकप्रिय सर्जक न्ह्यूलाई पलेँटीमा निम्त्याउन पाउँदा मलाई साह्रै आनन्द अनुभूत भएको छ ।

 पहिलोपल्ट पलेँटीमा सहभागी हुँदै गरेका सङ्गीतकार न्ह्यू भन्छन्- नेपाली आधुनिक सङ्‌गीतलाई अहिलेका श्रोताहरूसँग कनेक्ट गर्ने ब्रिजको रूपमा पाउँछु म पलेँटीलाई । यस मञ्चमा यसपाली हुने मेरो प्रस्तुतिलाई स्मरणीय बनाउन मेरो पुरा कोशिश रहनेछ ।‘ आफ्नो प्रतिक्रियापछि उन्मुक्त हाँसोकासाथ गीटारमा आफ्ना औंलाहरू कुदाउछन् न्ह्यू ।

 यसपालीको पलेँटी संचालनका निम्ति छेउमा बसेर रिहर्सल निहारिरहेका कवि तथा गीतकार विप्लव प्रतीक भन्छन्- कुनै शहर कतिको जीवन्त छ भन्ने कुरा त्यहाँ गुञ्जिने समकालीन सङ्‌गीतमा पनि निर्भर हुन्छ । त्यस पुण्य कामलाई २० वर्षदेखि  निरन्तरता दिइरहेको छ पलेँटीले । मलाई विश्वास छयसपाली पलेँटीमा हुने न्ह्यू बज्राचार्यको प्रस्तुति स्मरणीय रहनेछ ।

 पलेँटी टिमसँग पहिलोपल्ट गीत अभ्यास गरिरहेकी बानिका प्रधान भन्छिन्- असंख्य अग्रजहरूले पलेँटी कस्नुभएको यो मञ्चको गरिमा अतुलनीय छ । धेरै पहिलेदेखि यस मञ्चमा गाउने सपना थियो । मसँग पलेँटीको दर्शक भएको अनुभव छ । तर यसपाली भने आफैँलाई गाउने मौका जुर्‍यो । साह्रै आनन्दित छु ।‘ खुशी हुँदै हाँसो गुञ्जाउछिन् उनी र निर्देशनमा जुटिरहेका सङ्गीतकार न्ह्यूसँग स्वरमा स्वर मिलाउन थाल्छिन् ।

 पलेँटी कार्यक्रम यही जुलाई महिनाको अन्तिम शुक्रबार२५ र २६ तारिखशनिवारका दिन आयोजना हुनेछ । कालिकास्थानस्थित नेपालयको आरसालामा हुने यस कार्यक्रमको टिकेट www.paleti.com.np  मा प्रवेश गरेर अनलाइनबाट नै प्राप्त गर्न सकिन्छ ।