२४ जेष्ठ २०८३, आईतवार
,
Latest
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता कोप–३१ सम्मेलनको तयारीका लागि टर्किएद्वारा अन्तर्राष्ट्रिय वातावरणीय मञ्चको आयोजना यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन नेपालको कसिलो बलिङ, ओमान ९४ रनमा अलआउट
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘विकासका क्रममा वातावरण र मानवअधिकारलाई ख्याल गरौँ’



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानव अधिकार र वातावरण अन्तरसम्बन्धित विषय भएकाले भौतिक विकासका क्रममा ती पक्षलाई गम्भीर ढङ्गले ख्याल गरिनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल कानुन समाज र नेपाल–चीन कानुनी सहयोग मञ्चद्वारा आज आयोजित वातावरण र प्राकृतिक स्रोतको न्यायिक संरक्षणसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रममा उहाँले विकास र वातावरण संरक्षणलाई सँगसँगै अघि बढाउनुपर्ने बताउनुभयो ।

“वातावरण बिग्रियो भने मानवअधिकार जोगाउन सक्दैनौँ, वातावरण पहिलो पक्ष हो, वातावरण बिग्रेको छ भने राजनीतिक प्रणालीबाट मात्रै मानवअधिकार प्रत्याभूत गर्न सकिँदैन, खाद्य, जीवन, विकासलगायत अधिकार प्रत्याभूतिका लागि पनि वातावरण संरक्षण गर्नु आवश्यक छ”, पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो । उहाँले वातावरण संरक्षणसम्बन्धी विश्वव्यापी पहलका लागि नेपाल र चीनले संयुक्त रुपमा काम गर्न सक्ने बताउनुभयो ।

चीनको साङ्घाई उच्च जनअदालतका न्यायाधीश जिया यूले कानुनी शासनमार्फत हरित विकासका लागि न्यायिक सहयोगलाई सुदृढ पार्न विभिन्न योजना अघि बढाएको स्पष्ट पार्नुभयो । उहाँले हरित अर्थतन्त्र, कृषियोग्य भूमिको व्यवस्थापन, प्राकृतिक स्रोतको उचित उपयोग तथा पारिस्थितिक प्रणाली संरक्षणमा साङ्घाई उच्च जनअदालतले लिएका प्रयासबारे जानकारी दिनुभयो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईले जलवायु परिवर्तनको विश्वव्यापी प्रभावबाट नेपाल अछुतो नरहेको उल्लेख गर्दै सरकार र अन्तरराष्ट्रिय क्षेत्रको बेवास्ताले नेपाली जनजीवन र जीविकोपार्जनलाई असर परिरहेको बताउनुभयो । उहाँले हिमाल र यस क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि जोगाउन क्षेत्रीय कानुनी व्यवस्थाको खाँचो औँल्याउनुभयो ।

वरिष्ठ अधिवक्ता परशुराम कोइरालाले केही महिनाअघि साङ्घाईमा भएको नवौँ चीन–दक्षिण एसिया कानुनी प्रशिक्षणका सम्बन्धमा जानकारी दिँदै न्याय प्रक्रियामा प्रविधिको प्रयोग, दुई पक्षबीच मेलमिलाप, शीघ्र न्याय सम्पादनलगायतबारे अवगत गराउनुभयो । चीनका लागि पूर्वनेपाली राजदूत लीलामणि पौड्यालले नेपाल र चीनले संयुक्त रुपमा यस क्षेत्रको वातावरण संरक्षणको क्षेत्रमा सहकार्य गर्न सक्ने बताउनुभयो । उहाँले वातावरण संरक्षणको क्षेत्रमा चीनले गरेको प्रयत्नबाट नेपालले सिक्नुपर्ने बताउनुभयो ।

काठमाडौ स्थित चिनियाँ दूतावासका उपप्रमुख वाङ सिनले वातावरण संरक्षणका क्षेत्रमा चीनले गरेको प्रयास र आगामी योजनाबारे प्रकाश पार्नुभयो । समाजका अध्यक्ष पुष्पा भुसालले कानुनी दृष्टिकोणबाट वातावरण संरक्षणको क्षेत्रमा दुवै देशले गरेका कामको अनुभव आदानप्रदान गर्न कार्यक्रम सफल भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल कानुन समाजका अध्यक्ष पुष्पा भुसाल वातावरण संरक्षणको क्षेत्रमा सहकार्य गर्न दुई देश बिचका बिज्ञहरुले अनुभब आदान प्रदान प्रभाबकारी रहेको बताउनु भयो ।

समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले वातावरण संरक्षणसम्बन्धी विश्वव्यापी पहलका लागि नेपाल र चीनले संयुक्त रुपमा के के काम सकिन्छ भनेर कार्यक्रम आयोजना गरेको जानकारी गराउनु भयो ।