काठमाडौँ ।राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त कार्यान्वयनमा राजनीतिक नेतृत्वले सजग हुन आवश्यक रहेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित एकीकृत निर्वाचन विधेयकसम्बन्धी दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
वर्तमान निर्वाचन प्रणालीले जनसंख्याको वास्तविक घनत्वअनुसार सहभागिता सुनिश्चित नगरेको उल्लेख गर्दै सुधारको आवश्यकता औंल्याउनु भयो । ऐन कानूनमा समावेशी भनेर व्यवस्था राखेको भएपनि समानुपाति समावेशी सिद्धान्तअनुरुप अघि नबढ्दा समस्या भएको उहाँको तर्क छ । उहाँले अब जसको जति घनत्व, उसको त्यति नै प्रतिनिधित्व हुने व्यवस्थामा हामी निर्मम भएर जानुपर्ने धारणा राख्नुभयो । उहाँकाअनुसार हाल मुलुकमा ५० प्रतिशतभन्दा बढी महिलाको जनसंख्या भए पनि उनीहरूको सहभागिता १० प्रतिशतभन्दा कम रहेको भने दलित समुदायको सहभागिता १३.८ प्रतिशत भनिएपनि ५ प्रतिशतमा सिमित राखिएको छ ।
उहाँले भन्नुभयो, ‘हामीले समावेशी भन्यौं समानुपातिकलाई छोडिदियौं । समावेशी भन्दाखेरी जजसको ससमावेशिता भएपनि हुने, हामीले समानुपातिक भन्ने कुरा छोडिदियौं । वास्तवमा हाम्रो समानुपातिक समावेशी भन्ने अवधारणा थियो । त्यो भनेको अहिले जुन तपाईले लेख्नु भएको छ, जसको जति घनत्व, उसको त्यति नै प्रतिनिधित्व हुने व्यवस्थामा हामी निर्मम भएर जानुपर्छ । यसमा कुनै सम्झौता गर्नुहुदैन । जनसंख्या बढेपछि पनि सहभागिता स्थिर रहने कतै हुन्छ ? जनसंख्याको प्रतिशत बढेपछि त सहभागिता पनि बढ्नुप¥यो नि । अहिले दलितहरुको १३.८ प्रतिशत सहभागिता भनिएको छ । तर सहभागिता ५.८२ प्रतिशत मात्रै रहेको छ । अनि कहाँको समृद्धिको कुरा गरेको भन्या के यस्तो ? ५० प्रतिशतभन्दा बढी मुलुकमा महिलाको जनसंख्या छ । अनि १० प्रतिशत पनि उनीहरुलाई सहभागि नगराएर यो देशमा समृद्धि आउँछ भन्ने कुन चाहीँ अर्थशास्त्र हो क्या त्यो ? यस्तो कुरामा राजनीतिक नेतृत्व अलिकति सजक हुनुप¥यो । आज निर्णायक ठाउँमा भएका काँग्रेस र एमालेलाई मेरो आग्रह के छ भने आत्माले यो कुरा कार्यान्वयन गर्नुपर्यो । हाम्रो चेतना र बुद्धिले नभ्याएर त यो कानून बनाउनु परेको हो नि । बुद्धि थियो भने त कानून किन चाहिन्थ्यो र ?’
समानुपातिक समावेशी सिद्धान्तको प्रभावकारी कार्यान्वयन गर्नका लागि उहाँले सत्तारुढ दलहरु नेपाली काँग्रेस र नेकपा (एमाले)लाई आग्रह समेत गर्नुभयो ।












