२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माझी समुदायले मनाए ऐतिहासिक–अनौठो ‘पितरा पर्व’



अ+ अ-

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका माझी समुदायले परापूर्वकालदेखि दसैँको टिकाको भोलिपल्ट अर्थात् पापांकुशा एकादर्शीको दिन मनाइने ‘पितरा पर्व’ मनाएका छन् । प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व माझीहरूले आफ्नै रीतिरिवाजअनुसार मनाउने गर्दछन् ।

अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर, माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । अल्पसङ्ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरापर्व’ भनिने गरिएको हो ।

मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षको बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ । “यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्”, माझीले भन्नुभयो । उहाँले देशभरका माझी समुदायद्वारा बिहीबार साँझदेखि विधिपूर्वक यो पर्व मनाइएको बताउनुभयो । शुक्रबार आँपचौरका तीन जनाको नाममा पितरा निकालिएको हो ।

किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक माझीलाई आफूहरूलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव दम्पती खुसी भई ‘तिमीहरू मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौँ’ भनी वरदान दिएका थिए । त्यसैबेलादेखि यो पितरा पर्वको संस्कृति सुरुआत भएको सुन्दै आएको स्थानीय माझीहरू बताउँछन् ।

यस पर्वको चलन पनि अनौठो खालको छ । यस पर्व माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नभएको स्थानीय राजकुमार माझीले बताउनुभयो । पर्वको परम्पराअनुसार तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजया दशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने विजया दशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ ।

नेवार समुदायको गाईजात्रा परम्पराझैँ झल्कने भए पनि पितरापर्व फरक संस्कृति–रीति भएको बताइन्छ । स्थानीय ध्रुव माझीका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पुर्‍याई पितृहरूलाई निमन्त्रणा गर्न उनीहरूलाई विभिन्न बाहनहरूमा चढेर आऊन् भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायतका सवारीहरूको चित्र कोरिन्छ । मृतआत्मा तीनै सवारीसाधनहरूमा चढेर आउँछन् भन्ने जनविश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृतिसमेत कोरिएको हुन्छ । पर्व मनाउने क्रममा कुनै एक व्यक्तिले ‘मरेको अभिनय’समेत गर्ने गछन् ।

पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नुपर्ने पम्परा रहँदै आएको छ । पितरा निकाल्ने दिन ‘मूल भोटे’ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्दछन् । यस कार्यका लागि माझीकै दुई बालिकाहरूलाई पुरोहितका रूपमा पुजिन्छ । उनीहरूलाई अन्य समुदायका व्यक्तिले छुन नहुने र कसैले छोएमा तिनीहरूको मृत्युसम्म हुने मान्यता रहँदै आएको छ ।

पर्वका क्रममा मूलभोटेले दुई ‘गुरुङ’को छनोट गरी उनीहरूकै साथमा अन्य मृतआत्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दु:खसुखका गीतहरू गाउने प्रचलन रहेको छ । बाटो मर्मत र सफा गर्दै पुन: घरमा फर्केर मृतकको के इच्छा छ त्यो ‘बकाउन’ विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारकै सल्लाहअनुसार यदि चाहेमा मात्र आत्मालाई बोलाइने गरिएको माझीले बताउनुभयो ।

पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसारको तीन दिनको पितरा पर्वको समापन हुन्छ । यस पर्व मनाएपछि मरेका आफन्तको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकालाई कुनै किसिमको बिघ्नबाधा नआउने मान्यता रहेको माझी बताउनुहुन्छ । कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने पनि माझीहरू खुसीसाथ दसैँ मनाउने गरेको अनुभव सुनाउँछन् । रासस