२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आज ९ दलको एकता घोषणा हुँदै



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ९ वटा कम्युनिस्ट पार्टीबीच आज एकता घोषणा हुँदै छ ।

एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् ।

नेपालका कम्युनिस्ट पार्टीहरूमा ध्रुवीकरण र टुटफुटको शृङ्खला तीव्र छ । नेकपा एमालेबाहेक माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी लगायत साना कम्युनिष्ट दलहरूमा धुर्वीकरण र टुटफुट जारी छ ।

जेन–जी आन्दोलनपछि पार्टीहरूको पुनर्गठन अभियानसँगै कम्युनिष्ट पार्टीहरूमा तीव्र विवाद र योसँगै यसअघि विभाजन भएका पार्टीहरूको एकताको श्रृंखला नै चलेको छ ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना ९ दलले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ ।

एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन् ।

उता एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले पारदर्शी नेपाल नामको अभियान सुरु गरेको छ भने नेकपा एकीकृत समाजवादीबाट अलग भएका महासचिव घनश्याम भुसालले आजै पत्रकार सम्मेलन गरी विराट वाम एकताको अभियान सुरु गर्न लागेका छन् ।

त्यस्तै, नेकपा यसबाट अलग भएकी नेता रामकुमारी झाँक्री र पूर्व सांसद किसान श्रेष्ठ लगायतले छुट्टै पत्रकार सम्मेलन गरी एमालेमा जाने जानकारी गराउन लागेका छन् । भुसाल र झाँक्री पक्षको छुट्टाछुट्टै पत्रकार सम्मेलन आयोजना हुन लागेको छ । नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालले मङ्गलबार बेलुका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी छलफल गरेका छन् ।

छलफलमा ओलीले एमालेमा प्रवेश गर्न ढोका खुल्लै भए पनि कुनै शर्त लागू नहुने जानकारी दिएका छन् । खनालले एमालेले बहुदलीय जनवाद छोड्नुपर्नेलगायतका शर्त राखेर एमालेमा प्रवेश गर्ने संकेत गरेका थिए ।