काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)केन्द्रीय अनुशासन समितिले मधेश प्रदेशका प्रदेशसभा सदस्य कञ्चन विच्छा साहलाई पार्टीको नीति, सिद्धान्त र हित विपरीत गतिविधि गरेको आरोपमा स्पष्टिकरण सोधेको छ।
साहले पार्टी नेतृत्वसँग कुनै छलफल र परामर्श नगरी नेकपा (एमाले) संसदीय दलका नेता सरोज यादवको नेतृत्वमा गठन गरिएको मन्त्रिपरिषद्मा सहभागिता जनाएको पाइएकाले सो कार्य पार्टीको नीति र हित विपरीत भएको भन्दै उनलाई स्पष्टिकरण सोधिएको हो ।
साहलाई राप्रपाको विधान २०४८ (संशोधनसहित २०७८) को दफा ३० (ड) बमोजिम किन कारबाही र सजाय गर्न नपर्ने हो भनी २४ घण्टाभित्र लिखित स्पष्टिकरण पेस गर्न निर्देशन दिइएको छ।
समितिले स्पष्टिकरण नआएमा अनुशासन समितिको निर्णयअनुसार कारबाही अघि बढाइने चेतावनी दिएको छ।












