२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीवन्त सङ्ग्रहालय निर्माण गर्न महोत्सव



अ+ अ-

तनहुँ। तनहुँको व्यास नगरपालिका–१२ गोल्लामा खुला जीवन्त सङ्ग्रहालय निर्माण हुने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले ‘भानु घाँसी ग्राम’ नामकरण गरी अगाडि बढाइएको छ ।

आदिवासी जनजातिको मात्रै संस्कार, संस्कृति नभई सम्पूर्ण जिल्लावासीको समुदायको जन्म, विवाह, मृत्युसम्मको संस्कारको पहिचान झल्कने गरी सङ्ग्रहालयमा प्रस्तुत गर्नसक्ने भानु घाँसी ग्राम निर्माण समिति संयोजक हरिसिं गुरुङले जानकारी दिनुभयो ।

“तीन प्रकारको सङ्ग्रहालयमध्ये तनहुँमा खुला जीवन्त सङ्ग्रहालय निर्माण गर्न लागिएको हो । संस्कार, संस्कृति पुस्ता हस्तान्तरणको कार्यका निम्ति जीवन्त सङ्ग्रहालय आवश्यक छ”, उहाँले भन्नुभयो, “विभिन्न जातजातिको एकैठाउँमा संस्कार, कला, संस्कृति बुझाउनेछ ।”

अठ्ठाइसौँ कृष्ण द्व्रैपायनको अवतरण भूमि व्यास परासर क्षेत्र, ऐतिहासिक क्षेत्र तनहुँसुर र राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जीवन्त सङ्ग्रहालयमा समेटिने संयोजक गुरुङले  बताउनुभयो ।

सम्पूर्ण जातजातिको संस्कार, कला, संस्कृति पुस्ता हस्तान्तरणमा महत्वपूर्ण भूमिकामा सङ्ग्रहालयको रहने उहाँको भनाइ छ । सङ्ग्रहालय निर्माणसँगै गाउँ, बस्ती विस्तारका लागि विभिन्न समुदायको सहयोग रहनेगरी गुरुयोजना निर्माण गरिएको छ ।

आदिवासी जनजाति आयोगले ल्याएको अवधारणाअनुसार गण्डकी प्रदेशको तनहुँमा बनाउने तय भएको संयोजक गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जन्मँदा, मर्दापर्दा सबै संस्कार, कलासंस्कृति पुस्ता हस्तान्तरणमा सहयोग पुग्नेछ । जुन जातिको बस्ती जहाँ बाक्लो छ सोही बस्तीलाई विकास गरी गाउँ निर्माण गरिनेछ ।”

करोडौँको खर्च लाग्ने भए पनि ४० प्रतिशत जातीय सङ्गठन रहेकाले सोमार्फत नै निर्माणमा सहयोग पुग्ने र बाँकी विभिन्न निकायको सहयोगमा निर्माण हुने संयोजक गुरुङले बताउनुभयो ।

एक रोपनी नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको जग्गा रहेको र सोही जग्गासँग जोडिएको ऐलानी जग्गा लिएर खुला जीवन्त सङ्ग्रहालय निर्माण गरिने नेपाल आदिवासी जानजाति महासङ्घ तनहुँका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक सनम तामाङले जानकारी दिनुभयो ।

यही पुस २४ देखि माघ ५ गतेसम्म छैठौँ आदिवासी जनजाति महोत्सवबाट सङ्कलित रकममध्ये रु १५ लाख बचत गरी सङ्ग्रहालय निर्माणको शुभारम्भ गरिने उहाँले बताउनुभयो ।

‘भाषा, लिपि, धर्म, संस्कृति, सभ्यताको जगेर्ना र हस्तान्तरणमा ऐक्यबद्धता ! खुला जीवन्त सांस्कृतिक सङ्ग्रहालय निर्माण पर्यटन विकासमा प्रतिबद्धता !’ नाराका साथ छैठौँ आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव गर्न लागिएको हो ।

प्रविधिको युगमा चलेका पुस्तालाई मानिससँग सम्बन्धित सम्पूर्ण प्रचलन एकै स्थानमा आभास दिलाउने गरी महोत्सवको बचतबाट दीर्घकालीन गुरुयोजना बनाएर अगाडि बढेको महासङ्घले जनाएको छ । रासस