२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनतालाई केन्द्रमा राखेर सुशासनसहित सेवा प्रवाह गर्न मन्त्री खनालको आग्रह



अ+ अ-

काठमाडौँ। सङ्घीय मामिला तथा सामान्यमन्त्री रामेश्वरप्रसाद खनालले जनताको हितलाई केन्द्रमा राखेर सार्वजनिक सेवा प्रवाहमार्फत सुशासन कायम गर्न कर्मचारी तथा सरोकार भएका सबैलाई आग्रह गर्नुभएको छ ।

नेपाल जनप्रशासन सङ्घ (पान) को २६औँ साधारणसभा तथा ‘युवा आकाङ्क्षा अनुसारको सुशासन’ विषयक २१औँ राष्ट्रिय सम्मेलनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा अर्थमन्त्रीसमेत रहनुभएका खनालले कर्मचारीतन्त्रले आफ्नो स्वार्थभन्दा देशको स्वार्थलाई माथि राखेर परिणाममूलक काममा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक नेतृत्व तथा प्रशासनमा इमानदारिता र व्यावसायिकता कायम भएका युवाद्वारा सुशासन र सुधार सम्भव रहेको धारणा राख्नुभयो ।

सम्मेलनमा नेपालको समसामयिक राजनीतिक, सामाजिक र प्रशासनिक सन्दर्भमा युवाको बढ्दो असन्तुष्टि, सक्रियता र सुशासनसम्बन्धी अपेक्षामाथि छलफल गरिएको छ । नेपालमा जेनजीपुस्ताको सक्रियता, असन्तुष्टि र वैचारिक हस्तक्षेप नयाँ चरणमा प्रवेश गरेकाले यसलाई लोकतान्त्रिक चेतना र शासन सुधारको मागका रूपमा बुझ्नुपर्नेमा जोड दिइएको छ ।

छलफलपश्चात् लोकतान्त्रिक चेतना र शासन सुधारका पक्षमा युवापुस्ताको माग र चेतावनीका रूपमा जेनजी आन्दोलन भएको व्याख्या गर्दै शासन प्रणालीभित्रका संरचनागत कमजोरी, भ्रष्टाचार, बेरोजगारी, अवसरको असमान वितरण अन्त्य गर्नेलगायत ११ बुँदे सुझावसहितको अवधारणा जारी गरिएको छ ।

पारित प्रस्तावमा शासकीय वैधता बहुमत र सङ्ख्यामा मात्र नभई सारभूत र अर्थपूर्ण सहभागिता र समन्यायिक शासकीय लाभांश वितरणमा खोजिनुपर्ने, सुशासन कार्यान्वयन राष्ट्रिय प्राथमिकतामा पर्नुपर्ने, युवामैत्री शासन प्रणाली र युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गरिनुपर्ने, युवा आकाङ्क्षाको यथार्थपरक व्यवस्थापन र सम्बोधन हुनुपर्ने, तीव्र आर्थिक वृद्धिसहित देशभित्रै रोजगारी, उद्यमशीलता र युवा रोजगारी सिर्जनामा तत्काल प्रभावकारी कदम चालिनुपर्नेलगायत रहेका छन् ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता व्यवहारमा उतार्नुपर्ने, सार्वजनिक प्रशासनलाई डिजिटल, पारदर्शी र जवाफदेही बनाउन नवप्रशासनिक संरचना र काम सुधार गरिनुपर्ने, शान्तिपूर्ण नागरिक अभिव्यक्ति सुनिश्चित गर्दै संवाद र सहकार्यको संस्कृति प्रवर्द्धन गरिनुपर्ने, समावेशी र सामजिक न्यायमा आधारित शासन प्रणाली कायम गरिनुपर्ने, राज्य–समाज–नागरिकबीच नयाँ सामाजिक सम्झौता निर्माण गरिनुपर्ने, राजनीतिक स्थायित्वका लागि तोकिएको मितिमा निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्नेलगायत सुझाव दिइएको छ ।

कार्यक्रममा चितवनको रत्ननगर नगरपालिकाका वरिष्ठ अधिकृत सविता अर्याललाई रु २५ हजार राशिको ‘पान उत्कृष्ट राष्ट्रसेवक सम्मान’ प्रदान गरिएको थियो भने पान सचिवालयमा कार्यरत कार्यकारी प्रमुख जमुना दङ्गाललाई रु ३० हजार नगर पुरस्कारसहित सम्मान गरिएको थियो । यस्तै पुरस्कारको अक्षयकोष खडा गर्न योगदान गर्ने नेपाल सरकारका पूर्वसचिवहरू कृष्णहरि बाँस्कोटा र विद्याधर मल्लिकलाई सम्मान गरिएको थियो ।