२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै



अ+ अ-

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी भगवान् शिवको विशाल मूर्ति निर्माणमा जुटेका छन् ।

स्थानीय शिव गौरी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्ने उद्देश्यले ३३ फिट अग्लो शिवको मूर्ति निर्माण कार्य अगाडि बढाइएको हो ।

मूर्ति निर्माण समितिका सचिव जनक साउदले स्वदेश तथा विदेशमा रहेका स्थानीय बासिन्दाबाट चन्दा सहयोग जुटाएर काम भइरहेको बताउनुभयो । मूर्तिकारसँग रु दुई लाखमा ठेक्का सम्झौता गरी सुरु भएको काम हालसम्म ६० प्रतिशत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।

मूर्तिकार प्रेम टमटाले मूर्ति निर्माणको काम धमाधम भइरहेको बताउनुभयो । अबको एक महिनाभित्रै मूर्तिको सम्पूर्ण काम सक्ने योजना रहेको जानकारी दिनुभयो ।

समितिका अध्यक्ष खडकबहादुर साउदले मूर्तिको कुल लागत करिब रु पाँच लाख पुग्ने अनुमान गरिएको र सोहीअनुसार सहयोगका लागि आह्वान गरिएको बताउनुभयो । निर्माण समितिले रु पाँच हजारभन्दा बढी चन्दा दिने दाताहरूको नाम शिलालेखमा लेख्ने निर्णयसमेत गरेको उहाँले सुनाउनुभयो ।  रासस