२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जिरो टु ८८४८’ लाई कान्सको वर्ल्ड फिल्म फेस्टिभलमा ‘बेस्ट एसियन फिल्म’ अवार्ड



अ+ अ-

कान्स, फ्रान्स:  नेपाली डकुमेन्ट्री फिल्म ‘जिरो टु ८८४८ (Zero to 8848)’ ले फ्रान्सको प्रतिष्ठित वर्ल्ड फिल्म फेस्टिभल इन कान्समा ‘बेस्ट एसियन फिल्म अवार्ड’ प्राप्त गरेको छ।

फेस्टिभलको निर्णायक समितिले फिल्मको सशक्त कथावस्तु, उच्चस्तरीय सिनेमाटिक प्रस्तुति, संघर्ष, साहस र आकांक्षालाई गहिराइमा प्रस्तुत गरेको पक्षलाई मूल्याङ्कन गर्दै विश्वभरबाट सहभागी भएका चलचित्रहरूमध्ये ‘जिरो टु ८८४८’ को मौलिकता, गहिरो अनुसन्धान, विश्वव्यापी सन्देश र प्रकृति तथा संस्कृतिको उत्कृष्ट प्रस्तुतिलाई आधार मानेर यो अवार्ड प्रदान गरेको हो।

‘जिरो टु ८८४८’ ले नेपालको सबैभन्दा होचो भूभाग झापा जिल्लाको कचनकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मिटर) सम्मको यात्रालाई जीवन र गहिरो वास्तविकताका साथ प्रस्तुत गरेको छ। यो डकुमेन्ट्री फिल्म संघर्ष, धैर्यता, उद्देश्य र साहसको कथा समेत हो। जलवायु परिवर्तन, भौगोलिक विविधता तथा जीवनलाई एउटा आरोहणको रूपमा बुझाउने दार्शनिक सन्देश पनि यस डकुमेन्ट्री फिल्ममा समेटिएको छ।

फिल्मका टिम लिडर प्रेम बानियाँले भने, “बेस्ट एसियन फिल्म अवार्ड प्राप्त गर्नु हाम्रो लागि अत्यन्त गर्वको विषय हो। यसले केवल यो डकुमेन्ट्री फिल्मलाई मात्र होइन, नेपाल र एसियाका विषयवस्तु, पात्र र सोचहरूलाई पनि अन्तर्राष्ट्रिय सम्मान दिएको छ। यो सम्मानले हामीलाई अझ अर्थपूर्ण र प्रेरणादायी कथाहरू सिर्जना गर्न उत्साहित बनाएको छ।”

यस अवार्डसँगै ‘जिरो टु ८८४८’ स्वतः वर्ल्ड फिल्म फेस्टिभल इन कान्सको वार्षिक प्रतिस्पर्धामा प्रवेश गरेको छ, जसअन्तर्गत जुन २०२६ मा आयोजना हुने वार्षिक समारोहमा जिरो टु ८८४८ को सहभागिता रहनेछ। साथै, यो फिल्म फेस्टिभलको ‘बेस्ट अफ फ्युचर छनोट’ तथा दर्शक पुरस्कारका लागि पनि योग्य बनेको छ।

यस उपलब्धिले ‘जिरो टु ८८४८’ लाई एसियाबाट विश्व मञ्चमा उदाएको एक महत्वपूर्ण सिनेमाटिक आवाजका रूपमा स्थापित गरेको छ।

एक मिलियन अमेरिकी डलरमा निर्मित डकुमेन्ट्रीको परिकल्पना तथा नेतृत्व पत्रकार तथा लेखक प्रेम बानियाँले गरेका हुन्। डकुमेन्ट्रीमा चर्चित हलिउड डकुमेन्ट्री क्यारेक्टर तथा नर्थ फेसका ब्रान्ड एम्बेसेडर कोनराड एन्कर, १८ पटक सफल सगरमाथा आरोहण गरेका टेन्डी शेर्पा, विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाह, माउन्टेनियर एन्ड पासाङ शेर्पा आदिको फिचर रहेको छ। डकुमेन्ट्रीको निर्देशन, एडिटिङ निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् भने कार्यकारी निर्माता श्रीराम वाग्ले हुन्। डकुमेन्ट्रीका निर्माताहरू कपिलशरण वाग्ले, एलेक्स पराजुली, राजेन्द्र पाण्डे र जय नारायण शाह हुन्।

विश्वका प्रमुख शहरहरूमा डकुमेन्ट्रीको प्रदर्शन हुने निर्माण कम्पनीले जनाएको छ। यसअघि अमेरिकाको जर्जिया र नर्थ क्यारोलाइनाको एएमसी थियटरहरूमा डकुमेन्ट्रीको विशेष शोहरू सम्पन्न भइसकेका छन् र जनवरी महिनादेखि अमेरिकाका मुख्य–मुख्य शहरहरूमा विशेष शोहरू गरिने र त्यसपछि विश्व यात्रामा निस्कने बानियाँले जानकारी गराएका छन्।