काठमाडौँ। अगामी फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनका लागि सोमवार साँझसम्म जम्मा १० वटा पार्टीले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन् ।
समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन सोमवार साँझसम्म १० वटा दलहरुले बन्दसूचि बुझाएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
आयोगले सोमवार दिउँसो ४ बजेसम्म सूचि बुझाउन भनेको भएपनि ठूला दलहरूले अहिलेसम्म उम्मेदवार सूची बुझाएका छन् । प्रवक्ता भट्टराईले निस्सा लिएर गएका पार्टीहरुले आज सोमवार राति वा मंगलवार बिहानसम्म पनि आफ्नो समानुपातिक बन्दसूची बुझाउन पाइने बताउनु भयो ।
उहाँले आयोग राति अबेरसम्म भएर समेत सेवा जारी राख्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रतिदल ५० हजार रुपैयाँ धरोटि बुझाउनुपर्ने हुन्छ । अहिलेसम्म धरौटी बुझाउने दलहरुको संख्या ५५ पुगेको छ । सोहीअनुसार थप हुने क्रम जारी छ ।
निस्सा रुजु गरेर बन्दसूचीमा जाने भएको कारण सूची बुझाउने दलहरुको संख्या कम नै छ । १० वटा दलले सूची बुझाएका छन् यो बढ्दै जाने छ। यता धरौटी बुझाइसकेको र निस्सा लिने कार्य भएको कारण यो संख्या बढ्दै जानेछ ।’
उहाँले दलहरुले निस्सा लिने कार्य जारी रहेकोले सूची बुझाउने दलहरुको संख्या बढ्दै जाने बताउनु भयो । –न्युज एजेन्सी नेपाल












