२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डिजिटाइजेसन’ का लागि बोर्डद्वारा आवेदन आह्वान



अ+ अ-

काठमाडौँ। ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका पुराना नेपाली चलचित्रलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ ।

स्वदेशी चलचित्रको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’ कार्यका लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ ।

बोर्डले आज एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको हो । बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना चलचित्रको गुणस्तर सुधार हुनुका साथै ती चलचित्रलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ ।

यसअगाडि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरू ‘डिजिटाइजेसन’ गरिसकेको  छ । ती चलचित्रमा अङ्ग्रेजी भाषामा ‘सबटाइटल’ पनि राखिएका छन् ।

यस्तै, बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण पनि सार्वजनिक गरेको छ । बोर्ड बोर्डअन्तर्गत रहेको ‘सिनेपा २ बक्सअफिस’ मा पुस १२ गतेसम्म रहेको तथ्याङ्कअनुसार मङ्सिर र पुसमा प्रदर्शन भएका चलचित्रको व्यापार सुखद छैन ।

गत मङ्सिर १२ गतेदेखि प्रदर्शन भएको नेपाली चलचित्र ‘हर्ष’ ले गत पुस १२ गतेसम्म रु २८ लाख ७८ हजार ८३६ मात्र कमाइ गरेको छ । एकता पौडेलले निर्देशन गर्नुभएको चलचित्र ‘हर्ष’ का लागि जम्मा आठ हजार ८६८ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सन्तोष पन्त, नीर शाह, वर्षा राउतलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

मङ्सिर १८ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘अभिमन्यू ः च्याप्टर १’ ले सोही अवधिसम्म रु २१ लाख ५० हजार ४०२ कमाइ गरेको छ । सुशान्त गौतमले निर्देशन गर्नुभएको उक्त चलचित्रको छ हजार ८६१ वटा टिकट बिक्री भएका छन् ।

चलचित्रमा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, सरिता गिरीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । ‘पूर्णबहादुरको सारङ्गी’ जस्तो ऐतिहासिक सफल चलचित्र निर्माण गर्नुभएका निर्माता विनोद पौडेलले निर्माण गर्नुभएको दोस्रो चलचित्र व्यावसायिक रूपमा असफल देखिएको छ ।

मङ्सिर २६ गतेदेखि प्रदर्शन भएको चलचित्र ‘पीआर’ ले सोही अवधिमा रु छ लाख ७५ हजार ३३ कमाइ गरेको छ । उक्त चलचित्रको कूल दुई हजार १४१ वटा टिकट बिक्री भएका छन् । शोभित बस्नेतले निर्देशन गर्नुभएको उक्त चलचित्रमा सुरज पौडेल, विनिता कार्की, नीर शाह, गौरी मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

मङ्सिर २६ मा प्रदर्शन भएको चलचित्र ‘लोकन्ती’ ले रु चार लाख १२ हजार ५४० र ‘चिराग’ ले रु ६८ हजार ४५० कमाइ गरेको तथ्याङ्क ‘सिनेपा २ बक्सअफिस’ मा उल्लेख छ । उल्लेखित कमाइ गएको पुस १२ गते बेलुकी ११ः५९ मिनेटसम्म नेपालभर भएको हो ।

यही पुस ४ गतेदेखि नेपालभर प्रदर्शन भएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ले पनि घरेलु बक्सअफिसमा उत्साहजनक कमाइ गर्न सकेको छैन । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गर्नुभएको उक्त चलचित्रले सोही अवधिमा रु ६२ लाख ६९ हजार ४७५ कमाइ गरेको छ । उक्त चलचित्रको कूल १९ हजार ७९३ वटा टिकट बिक्री भएका छन् ।

भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

हाल प्रदर्शनरत चलचित्रमध्ये गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरू भएको ‘परान’ ले रु १७ करोड ६७ लाख ३६ हजार ८२८ कमाइ गरेको छ । दीपकप्रसाद आचार्यले निर्देशन गर्नुभएको उक्त चलचित्रले प्रदर्शनको ५१ औँ दिन पूरा गर्दा गएको शनिबारसम्म छ लाख २७ हजार ५८५ वटा टिकट बिक्री भएका छन् । उक्त चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, सुव्रत आचार्यलगायतले अभिनय गर्नुभएको छ ।

चलचित्र विकास बोर्डले पछिल्लो केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी र विदेशी चलचित्रको व्यावसायिक विवरण सार्वजनिक हरेक सोमबार गर्ने गरेको छ । रासस