२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा



अ+ अ-

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सचिवमा केन्द्रीय सदस्य तथा शिक्षा परामर्श व्यवसायी सुरज सिलवालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यही पुस २८ गते हुने इक्यान केन्द्रीय समितिको लागि निर्वाचन हुदैछ । विगत १५ वर्षदेखि शिक्षा परामर्श क्षेत्रमा सक्रिय सिलवालले आफूले आर्जन गरेको व्यावहारिक अनुभव, पेशागत निष्ठा र जिम्मेवारीबोधलाई आत्मसात गर्दै कनेक्ट ग्लोब एजुकेशन ग्रुप (सीजीईजी) को स्थापना तथा सञ्चालन गर्दै आएको  जनाएका छन् । सिलवालले शैक्षिक परामर्श क्षेत्रमा गुणस्तरीय सेवा, पारदर्शिता, व्यावसायिक नैतिकता र विद्यार्थीको उज्ज्वल भविष्यका लागि भरोसायोग्य मार्गदर्शन प्रदान गर्दै आइरहेको उल्लेख गरेका छन् ।

‘व्यावसायिक अनुभवसहित पछिल्लो १० वर्षदेखि साधारण सदस्यका रूपमा इक्यानमा आबद्ध छु,’ सिलवालले भने, ‘गत महाधिवेशनमा सबै इक्यानियनको माया, विश्वास र समर्थनका कारण उच्च मतसहित कार्यकारी सदस्यमा निर्वाचित भएको स्मरण गराउन चाहन्छु ।’

आफ्नो दुई वर्षे कार्यकाल स्मरणयोग्य रहेको बताउँदै उनले संस्थाका अध्यक्षको नेतृत्वमा तयार गरिएका कार्ययोजना तथा कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउँदै सुम्पिएका जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गरेको दाबी गरे । अब पनि संस्थाको हितलाई केन्द्रमा राखी निष्ठा, इमान्दारिता, पारदर्शिता र उत्तरदायित्वका साथ सचिव पदको जिम्मेवारी बहन गर्न तयार रहेको उनले बताएका छन् ।

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर इक्यानको संस्थागत हित र सम्पूर्ण सदस्यहरूको साझा आवाज बन्ने प्रतिबद्धता व्यक्त गर्दै सिलवालले सचिव पदका लागि उम्मेदवारीसँगै आफ्ना प्रतिबद्धता तथा कार्ययोजनाहरू समेत सार्वजनिक गरेका छन् ।

उनले विगतको कार्यसम्पादन, वर्तमान प्रतिबद्धता र भावी योजनाको समग्र मूल्याङ्कन गर्दै साथ, सहयोग र अमूल्य मत प्रदान गर्न सम्पूर्ण इक्यानियनसँग आग्रह गरेका छन् ।

सिलवालका प्रमुख प्रतिबद्धता तथा कार्ययोजनाहरूः

-सम्पूर्ण ECAN सदस्यलाई संघका कार्यक्रमहरूमा नेतृत्वदायी भूमिकामा सहभागी गराउने।

-केन्द्र तथा प्रदेश सरकारसँग समन्वय गरी शिक्षा परामर्श क्षेत्रसँग सम्बन्धित नवीकरण तथा स्वीकृति प्रक्रियालाई सरल बनाउने।

-विभिन्न देशका विश्वविद्यालय तथा कलेजहरूलाई नेपाल आमन्त्रण गरी अन्तर्राष्ट्रिय नेटवर्किङ विस्तार गर्ने।

-कार्यसमितिभित्र जिम्मेवारीको स्पष्ट विभाजन गर्दै कार्यक्रमहरू परिणाममुखी बनाउने।

-केन्द्रदेखि शाखासम्म सदस्य–केन्द्रित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने।

-ECAN शाखाहरूलाई सशक्त बनाउँदै सूचना, नेटवर्किङ र व्यवसायिक अवसर सुनिश्चित गर्ने।

-प्रायोजक व्यवस्थापनमार्फत केन्द्र र शाखालाई आर्थिक रूपमा मजबुत बनाउने।

-“The Knowledge House” अभियानमार्फत कोष संकलन गरी ECAN को आफ्नै भवन निर्माणतर्फ ठोस पहल गर्ने।