काठमाडौँ। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त नभएको बताउनुभएको छ ।
आईतवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेता सिटौलाले पार्टी केन्द्रिय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य नभएकाले नै १५ औ नियमित महाधिवेशनको मिति सार्वजनिक गरिसकेको बताउनुभएको हो । उहाँले पार्टीको नियमित १५ औं महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको बारेमा सबैले ध्यान दिनुपर्ने बताउनु भयो ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने निर्णय गरिसकेकाले त्यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो । पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्ने आवश्यकता रहेको बताउनु भयो।
पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्ने बताउनु भयो ।
नेता सिटौलाले भन्नुभयो, ‘नेपाली काँग्रेस पार्टी केन्द्रिय कार्य सम्पादन समितिले विशेष महाधिवेशनको औचित्य छँदैछैन भनिसकेको छ । पार्टीको नियमित १५ औं महाधिवेशन गर्नेगरी आफ्नो कार्यतालिका पारित गरेको छ ।
आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली काँग्रेसले भाग लिने निर्णय गरिसकेको छ । निर्वाचनमा पार्टीका तमाम साथीहरुलाई परिचालित, संगठित हुन आह्वान गरिएको छ । त्यसैले अब विशेष महाधिवेशनको चर्चा गर्नु उपयुक्त छैन भन्ने मलाई लाग्छ ।
यतिबेला पार्टी पंक्तिभित्र सम्पूर्ण एकता निर्माण गर्नुपर्ने, पार्टी एकतावद्ध भएर जनताको माझमा जानुपर्छ । पार्टीले आम जनताको लागि, राष्ट्रको लागि आगामी दिनमा के कस्तो योजना ल्याउने हो, के कस्तो नीति निर्माण गर्ने हो ? त्यसमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ । हामी अब निर्वाचनतर्फ लाग्नुपर्छ ।’
नेता सिटौलाले विशेष महाधिवेशनतर्फ नलाग्न र निर्वाचनतर्फ लाग्न पार्टीका नेता र कार्यकर्ताहरुसँग आह्वान गर्नुभयो । १५ औं नियमित महाधिवेशन सफलतापूर्वक सम्पनन्न गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल












